काठमाडौं, २२ पुस । प्रधानमन्त्रीको सम्बोधनमा प्रश्न सोध्न पाउनुपर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेपछि प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ ।
प्रतिनिधिसभाको आईतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन लगत्तै सभामुखले कार्यसुचीमा रहेका कार्यक्रम अघि बढाउन खोजेपछि कांग्रेस सांसदहरु उठेर विरोध गरेका थिए ।
कांग्रेस सांसदहरुले प्रतिनिधिसभा नियमावलिको २ सय १९ अनुसार सार्वजनिक महत्वको विषयमा दिएको अभिव्यक्तिमा सांसदले प्रश्न सोध्न पाउने व्यवस्था रहेको भन्दै अडान लिएपछि सभामुख कृष्ण बहादुर महराले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको हो ।
कांग्रेस सांसदको विरोधका बीच अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले निवृत्तभरण कोष विधेयक सम्बन्धी समितिको प्रतिवेदन र भुक्तानी तथा फस्यौट विधेयक सम्बन्धी समितिको प्रतिवेदन बैठकमा पेस गर्नुभएको थियो ।
प्रश्न सोध्न पाउनुपर्ने सम्बन्धमा निकै समय सभामुख र कांग्रेस सांसदहरुबीच भनाभन चलेको थियो ।
लामो समय बैठकको कार्यसंचालन प्रभावित हुदा पनि सभामुखले प्रश्नउत्तरको समय दिन नसक्ने भन्दै कार्यसुचीका काम अघि बढाएपछि कांग्रेस सांसदहरुले रोष्टम अगाडि आएर नाराबाजी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्