झापा,२२ पुस । डेढ महिनाअघि एकै परिवारका चार जनाको जलेर मृत्यु भएको घटना सेलाउन नपाउँदै झापामा फेरि एक महिलाको जलेर मृत्यु भएको छ ।
झापाको गौरीगञ्ज गाउँपालिका २ हेमनाडाँगी स्थित जोगेन टुडुको घरमा आगलागी हुँदा उनको श्रीमती ४५ वर्षीय सुनिता टुडुको जलेर मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार शनिबार राती मादक पदार्थ सेवन गरी आफ्नै घरको बरण्डामा सुनिता सुतिरहेकी थिइन् । छेऊमै बालिएको मट्टितेलको कुपिबाट आगो सल्किएको उनले थाहा नै पाइनन् ।
सल्किएको आगो उनी सुतिरहेको ओछ्यानसहित घरलाई भेट्टाएपछि टुडुको श्रीमती सुनिताको जलेर मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
यता घरमा आगो लागेको थाहा पाएलगतै इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएका प्रहरी टोली तत्काल घटनास्थल पुगेका थिए । प्रहरीले आवश्यक अनुसन्धान पश्चात महिलाको शवलाई परीक्षणको लागि आम्दा अस्पताल दमक पठाइएको प्रहरीले जनाएको छ ।
गत मंसीर ९ गते राति झापाको शिवसताक्षी नगरपालिका–७ स्थित लालझोडामा भएको आगलागीमा परी चार महिने शिशु टीकाराम खनालसहित परिवारका चारै जनाको जलेर मृत्यु भएको थियो ।
आगलागीमा परी ३५ वर्षीय लक्ष्मण खनाल उनकी श्रीमती राधिका खनाल, चार वर्षीया छोरी चन्द्र (सुप्रिया) र चार महिने छोरा टीकारामले सुतेकै ठाउँमा मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्