चितवन, २२ पुस । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गुटको पछि नलाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
प्रजातन्त्रका सेनानी रघुनाथ अधिकारीको १३औँ दिनको पुण्यतिथिमा उहाँको निवास खैरहनीमा नेपाली काङ्ग्रेस चितवनले आज आयोजना शोकसभालाई सम्बोधन गर्नुहुँदै उहाँले गुट भनेर कुनै पनि नेताको पछि लाग्न नहुने बताउनुभयो ।
महासमितिको बैठकपछि पार्टीभित्र एकताको सन्देश आएको भन्दै उहाँले भन्नुभयो, “अब म देउवा काङ्ग्रेस, पौडेल काङ्ग्रेस भनेर नलाग्नुस् म नेपाली काङ्ग्रेस भनेर लाग्नुस् ।” गुटपछि नलाग्ने हो भने आउने निर्वाचनबाट समृद्धिको नेतृत्व काङ्ग्रेसले गर्ने उहाँले बताउनुभयो ।
पार्टी एक ढिक्का बन्ने विश्वास दिलाउँदै उहाँले भन्नुभयो, “इमान्दार भएर पार्टीमा लाग्नुस् तपाईँको मुल्याङ्कन पार्टीले गर्छ ।” काङ्ग्रेस सङ्कटमा रहेको र सुधार्नु पर्ने बताउँदै उहाँले भन्नुभयो, “माथिल्लो तहमा हामी मिल्याँै तल्लो तहमा तपाईँहरु मिल्नुस् ।”
मुलुकमा लोकतन्त्रलाई साकार पार्ने काम र जनतालाई समृद्धि दिन काङ्ग्रेसले मात्र सक्ने उहाँको दावी थियो ।
सो अवसरमा नेता पौडेलले नेपाली काङ्ग्रेस चितवनका पूर्वउपसभापति समेत रहनुभएका अधिकारीको निधनले सिङ्गो काङ्ग्रेसमा अतुलनीय क्षेती पुगेको बताउनुभयो ।
अधिकारी परिवारले लमजुङबाटै राजनैतिक र सामाजिक परिवर्तनमा ठूलो भूमिका निर्वाह गरेको भन्दै उहाँले हलो क्रान्तिको अभियानमा अधिकारी परिवारको अतुलनीय योगदान रहेको पनि बताउनुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, निवर्तमान सभापति टेकप्रसाद गुरुङ, पूर्वसभापतिहरु रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, टिकाराम न्यौपाने, कृष्णलाल सापकोटा, नेपाली काङ्ग्रेस मकवानपुरका पूर्वसभापति रघुनाथ न्यौपाने लगायतले बोल्नुभएको थियो ।
यस अघि आजै पौडेलले समाचार सङ्कलनका क्रममा दुर्घटनामा परी निधन भएका पत्रकार प्रबिण पौडेलको रत्ननगरमा रहेको निवासमा पुगेर समवेदना प्रकट गर्नुभएको थियो ।
नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको शोकसभामा उहाँले कार्यक्षेत्रमा रहँदा एक पत्रकारले ज्यान गुमाउनु परेको सुन्दा आफूलाई दुःख लागेको बताउनुभयो । एपि वानमा कार्यरत पौडेलको यही पुस १३ गते रत्ननगरमा सवारी दुर्घटनामा परी निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्