एजेन्सी,२२ पुस । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सिरियामा तैनाथ अमेरिकी सेनाको फिर्तीका बारेमा विभिन्न पक्षसँग वार्ता शुरु भएको बताउनुभएको छ ।
उहाँले अमेरिकी सैनिक फिर्ती अघि सहयोगी मुलुकहरुको चासोलाई अमेरिकाले सुनिश्चित गर्ने स्पष्ट गर्नुभयो ।
इजरायल भ्रमणका क्रममा बोल्टनले व्यक्त गरेका धारणाले अमेरिकी सैनिक फिर्तीमा ढिलाइ हुने सङ्केत दिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले डिसेम्बर १९ मा सिरियामा तैनाथ दुई हजार अमेरिकी सैनिक तत्कालै फिर्ता हुने घोषणा गर्नुभएको थियो । अमेरिकी घोषणापछि सिरिया द्वन्द्वमा रहेका अमेरिकी गठबन्धनका मुलुकहरुले चिन्ता व्यक्त गरेका थिए ।
राष्ट्रपति ट्रम्पको उक्त घोषणासँगै त्यसप्रति असहमति जनाएर रक्षामन्त्री जिम म्याटिसले राजीनामा दिइसक्नुभएको छ ।
चौतर्फी विरोधपछि ट्रम्प आफैँले निश्चित समयावधिमा आफ्ना सैनिकहरु विस्तारै अमेरिका फिर्ता हुने बताउनुभएको छ । राष्ट्रपतिका सुरक्षा सल्लाहकार बोल्टनले सैनिक फिर्ता हुनुअघि कतिपय शर्तमाथि विचार गरिने बताउनुभयो ।
“हामीले राष्ट्रपतिको निर्णयमाथि छलफल गरिरहेका छौं । उत्तरपूर्वी सिरियामा आइसीस पराजित भइसकेकाले त्यहाँबाट सैनिक फिर्ता हुन सक्छन् । यहाँ अब आइसीसबाट कुनै खतरा छैन,” इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहूसँगको भेटमा बोल्टनले भन्नुभयो ।
“इजरायल र हाम्रा अरु मित्रराष्ट्रहरुको सुरक्षाको भरपर्दो स्थिति बन्नु पर्दछ । साथै आइसीस र अरु आतङ्कवादी समूहसँग हामीसँगै लडेकाहरुलाई हामीले विशेष ध्यान दिनु आवश्यक छ ।”
इजरायलले मुख्य रुपमा अमेरिकी सैनिक फिर्ती बारे गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ । इरान समर्थित लडाकूहरुले सिरियाको बाटो हुँदै इजरायलमाथि आक्रमण गर्ने खतरा रहेको इजरायलको भनाइ छ ।
प्रधानमन्त्री नेतान्याहूले सिरियामा रहेका इरानी लडाकूहरु विरुद्धको कारबाहीलाई निरन्तरता दिइने बताउनुभएको छ ।
इजरायलले सिरियामा रहेका इरानी सैनिक पोस्टलाई लक्षित गरी सैयौं हवाई हमला गरेको छ । सिरियामा रहेका हेजबोल्लाह समूहलाई तेहरानले आधुनिक हातहतियार सहित आर्थिक, प्राविधिक र राजनैतिक मद्दत गरिरहेको बताइन्छ ।
एनबिसी टेलिभिजनसँग कुरा गर्दै बोल्टनले कुर्दिस गठबन्धनको सुरक्षालाई प्रत्याभूति नगरी अमेरिकी सैनिक फिर्ता नहुने बताउनुभएको छ । उहाँले सबै दुई हजार अमेरिकी सैनिक तत्काल फिर्ता नहुने पनि स्पष्ट गर्नुभयो ।
उहाँले उत्तरपूर्वी सिरियामा तैनाथ अमेरिकी सेना पहिलो चरणमा फिर्ता हुने बताउनुभयो । सिरियाको दक्षिणस्थित अल–तान्फ सैन्य अखडामा रहेका केही सैनिक तत्काल फिर्ता नहुने उहाँले स्पष्ट गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्