नेपालगन्ज, २३ पुस । बाँकेको कोहलपुरबाट प्रहरीले पाटे बाघको छाला र हाडखोरसहित दुई जनालाई पक्राउ गरेको छ । ५ नम्बर प्रदेश अपराध अनुसन्धान ब्यूरोको टोलीले कोहलपुरको बसपार्क नजिकैबाट उनीहरुलाई सोमबार पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार पक्राउ पर्नेमा गुराँस गाउँपालिका–२ दैलेखका ३६ बर्षीय कमल बहादुर खत्री र पुनर्वास नगरपालिका–५ कञ्चनपुरका २० बर्षीय हरि ढकाल रहेका छन् । बन्यजन्तुको अंगप्रत्यंगको अवैध कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा पुगेको ब्यूरोको टोलिले उनीहरुलाई रङ्गेहात पक्राउ परेको हो ।
बरामद पाटे बाघको छाला ९ फिट लम्बाईको रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रमेश बहादुर सिंहले जानकारी दिए । पक्राउ परेका दुवैजना बन्यजन्तुको अंगप्रत्यंगको अवैध कारोबारी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका ढकाल र खत्रीसहित बरामद बाघको छाला र हाडखोर बाँके राष्ट्रिय निकुञ्जको जिम्मा लगाउने तयारी भईरहेको डिएसपी सिंहले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्