काठमाडौँ, २७ पुस । नौमूले गाउँपालिकाका अध्यक्षले आफूलाई कुटपिट र मानसिक यातना दिने गरेको भन्दै उहाँकी पत्नी ४२ वर्षीया दिलमाया बुढाले दैलेख जिल्ला अदालतमा आज घरेलु हिंसा मुद्दा दर्ता गराएकी छिन् ।
नौमूले गाउँपालिका–३ द्वारी घर भई हाल नौमूले गाउँपालिकाका निर्वाचित अध्यक्ष ४३ वर्षीय भदे बुढा मगरले पुस ११ गते कुटपिट गरेको भन्दै दिइएको उजूरीमा माओवादी युद्धताका घरमा जेठी पत्नी हुँदाहुँदै २०५८ मंसिर ९ गते ललाईफकाई, परपञ्च गरी कान्छी श्रीमति बनाएको उजूरीमा उल्लेख छ । यो उजूरीमा विवाह लगतै भारतको जोशीमठ पुगेर मजदूरी गरी कमाएको रकमले बुटवलको देबीनगरमा किनेको जग्गामा जेठी पत्नी धनकली बुढा र उहाँबाटका दुई छोराहरुलाई मात्र घर बनाई त्यहाँ बसालेको तर बेवास्ता गरेको उल्लेख छ ।
अध्यक्ष बुढाले आफूलाई गरेको कुटपिट घरेलु हिंसा (कसूर र सजाय) ऐन २०६६ को दफा ३ अनुसार कसूर भएकाले उपदफा १३ को उपदफा १ (क) बमोजिम सजायको मागदावी गरिएको छ । सो दफामा २५ हजार रुपैंयाँसम्म जरिवाना र ६ महिनासम्म कैद हुने कानूनी व्यवस्था छ । आरोपित आफ्ना श्रीमान् गाउँपालिकाको अध्यक्ष पदमा बहाल रहेको बेला आफू माथि कुटपिट भएको कारण घरेलु हिंसा (कसूर र सजाय) ऐन २०६६ को दफा १३ उपदफा (४) बमोजिम सार्वजनिक पद धारण गरेको व्यक्तिलाई हुने १० प्रतिशत थप सजाय समेत पाऊँ भनी उजूरीमा खुलाइएको छ ।
यस बारे प्रतिक्रियामा माग्दा गाउँपालिका अध्यक्ष बुढाले ‘म सबैको हित र कल्याण गर्दै आएको व्यक्ति घर मिलाउन प्रयत्न गर्दै थिएँ, कोही उचाल्ने पछार्नेहरुको लहलहैमा उजूरी प¥यो होला ।’ कानूनी प्रक्रियामा गएकोले बाँकी सबै अदालतमा बताउने टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस्