संखुवासभा, २५ माघ । पूर्वी पहाडी जिल्ला संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थलमा विहीबार राति अज्ञात समुहले बम बिस्फोटन गराएको छ ।
चिचिला गाउँपालिका–३ पुखुवामा रहेको विद्युत गृहस्थलमा अज्ञात समुहले ३ वटा बम विस्फोटन गराएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरिक्षक श्याम सारुगमरले बताए ।
बम विस्फोटनबाट सुरुङ प्रवेश मार्गको पानी निकाल्ने ठाउँमा सुरुङ खन्ने मेसिन र एउटा जेनेरेटरमा क्षति पुगेको प्रहरीको भनाइ छ । भने त्यसको थप विवरण आउन बाँकी नै रहेको छ ।
बम कसले र किन पडकाएको हो भन्ने बारेमा खोजी र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी र प्रहरी नायव उपरिक्षक श्याम सारुमगरको नेतृत्वमा टोली घटनास्थल गएको छ ।
उक्त भवनमा गएको माघ महिनामा पनि बम विस्फोट गराएको थियो । आयोजनाको पाँच कोठे उक्त भवनका दुई कोठामा पूर्ण रुपमा क्षति पुगेको थियो । सोही स्थानमा तीन वर्षअघि पनि नेत्र बिक्रम चन्द विप्लवको पार्टीले भवनमा आगजनी गरेको थियो । र आधिकारीक रुपमा घटनाको जिम्मा समेत लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्