काठमाडौँ, १३ फागुन । ललितपुरको नख्खुमा भएको बम बिस्फोटको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ ।

नख्खुको एनसेल मुख्य कार्यालयलाई लक्षित गरि शुक्रबार बेलुका भएको बम बिस्फोटमा एकजनाको ज्यान गएको थियो भने दुईजना घाइते छन् ।
बिस्फोटमा परि भैँसेपार्टीका ४९ वर्षका सिमप्रसाद गुरुङको मृत्यु भयो । २६ वर्षकी प्रतीक्षा खड्का र २५ वर्षकी उरुषा मानन्धर घाइते छन् ।
आइतबार बेलुका विप्लव नेतृत्वको नेकपाले घटनाको जिम्मा लिएको हो । नेकपाका केन्द्रीय सदस्य हेमन्तप्रका ओलीले आइतबार बेलुका बिबिसी नेपाली सेवामा दिएको अन्तर्वाताको क्रममा घटनाको जिम्मा लिएका हुन् ।
उनले क्रान्तिको क्रममा यस्ता घटना हुने बताए । सर्वसाधारणको ज्यान गएको प्रति पार्टी भित्र गम्भीर समीक्षा हुने उनले उल्लेख गरेका छन् । उनले एनसेलबाट आफूहरुले पैसा नपाएका कारण बम बिस्फोट गराएको भन्ने आरोप अस्वीकार गरे ।
उनले पैदल यात्री आफूहरुको निशाना नरहेको स्पष्ट पारे र सिमप्रसादको मृत्युप्रति दुःख व्यक्त गरेका छन् ।
सरकार र न्यायपालिकाले एनसेलले गर्दै आएको लुटमा ध्यान नदिएको र न्यायपालिका नै एनसेलबाट प्रभावित भएको उनले आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्