काठमाडौं, १८ असार । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद बहादुरसिंह लामाले सरकारले ल्याएको ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा समावेश गरिएका सामाजिक संजालसम्बन्धि सबै प्रावधान खारेज गर्न माग गर्नु भएको छ ।
आज प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकमा विधेयकमाथिको छलफलमा उहाँले संविधान प्रतिकूल हुने गरी आएको विधेयकमा ल्याइएका सामाजिक संजालसम्बन्धि सबै प्रावधान खारेज गर्न सरकारसँग माग गर्नु भएको हो । बैठकमा सांसद लामाले सामाजिक संजालमार्फत् अभिव्यक्ति स्वतन्त्रतालाई प्रतिबन्ध लगाउने गरी आएको विधेयक मान्य नहुने चेतावनी दिँदै फरक मत पनि पेश गर्नु भएको छ । संविधानको मर्मविरुद्ध सामाजिक संजाल फेसबुक लगायत अन्य सन्जालमाथि प्रतिबन्ध लगाइएकोमा उहाँको आपत्ति छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले भने सामाजिक संजालको दुरुपयोग हुने गरेको उल्लेख गर्दै त्यसलाई सरकारले नियन्त्रण गरेर जान उपयुक्त हुने धारणा राख्नु भएको थियो । उहाँले आफूलाई नसोधी रतन्धो रोगी भएको समाचार सम्प्रेषण गरेको उल्लेख गर्दै यस ढंगले गलत समाचार सम्प्रेषण गर्नेहरुलाई नियन्त्रण गर्न सरकारले कानुन बनाउन आवश्यक रहेको पनि स्पष्ट पार्नु भयो ।
बैठकमा समितिका सदस्यहरुले विवादमा तानिएको सो विधेयक व्यापक परामर्श गरेर मात्रै पारित गर्नुपर्ने धारणा पनि राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्