काठमाडौं, २४ साउन । काठमाडौंको स्वयम्भूमा शुक्रवार दिउसो गोली चलेको छ । विभिन्न व्यक्तिलाई धम्क्याएर ठूलो रकम माग गर्ने गुण्डा समूहका नाइकेलाई समात्ने क्रममा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गोली चलाएको हो। प्रहरीको गोली लागेर लोप्साङ भनिने निलम लामा घाइते भएको प्रहरीले पुष्टि गरेको छ । उनको घुँडामा गोली लागेको छ।
निलमसँगै अमृत तामाङ पनि पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीका अनुसार चन्दा आतंक मच्चाइरहेको सूचनाका आधारमा खोजी गर्न जाँदा उनीहरु फेला परेका थिए । स्वयम्भू विजेश्वरीस्थित विजेश्वरी हाउजिङको झिँगु क्याफेमा बसिरहेको बेलामा लामालाई प्रहरीले फेला पारेको हो ।
पक्राउ गर्न पुगेको प्रहरीमाथि नै लामा जाईलागेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ । उनीहरूले विभिन्न व्यक्तिसँग दुई करोड रुपैयाँसम्म फिरौती मागेको महाशाखामा उजुरी परेको र सोही आधारमा पक्राउ गरिएको डीआईजी थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्