काठमाडौं, २४ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतान्त्रिक शक्तिहरु मिलेर मुलुकलाई समृद्ध बनाउनु पर्ने बताउनु भएको छ ।
काठमाडौँमा आज आयोजित नेकपा नेता एवं साहित्यकार दीनानाथ शर्माको निबन्ध संग्रह ‘झरीको सौन्दर्य’ र शमी साहित्यिक मासिक पत्रिकाको विमोचन कार्यक्रममा अध्यक्ष प्रचण्डले परिवर्तनका सहयात्रीहरु मिलेर देशलाई शान्तिपूर्ण रुपान्तरण गर्नुपर्ने बताउनुभएको हो । अध्यक्ष प्रचण्डले परिवर्तनलाई संस्थागत गर्नु बाहेक अर्काे विकल्प छैन भन्दै कुनामा बसेर झटारो हानेर विकल्प आउछ कि भन्नुको कुनै अर्थ नभएको टिप्पणी गर्नुभयो ।
अध्यक्ष प्रचण्डले विद्रोहको नेतृत्व र जिम्मेवारी लिँदै मुलुकलाई शान्तिपूर्ण रुपान्तरण गर्नमा महत्वपूर्ण भूमिका खेलेको जिकिर गर्नुभयो । हाल पार्टी एकता जस्तो ऐतिहासिक प्रक्रियासमेत पूरा भएकाले जनतामा देखिएको आशा र निराशा दुवैलाई आत्मसात् गरेर आफूहरु अगाडि बढ्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले समाज रुपान्तरण गर्ने शक्तिशाली औजारका रुपमा साहित्य रहेको बताउनुभयो । उहाँले कम्युनिष्ट आन्दोलनले वर्तमान समयको समस्यालाई बोधगरी सुन्दर भविष्यको परिकल्पना गर्न लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी, वरिष्ठ साहित्यकार माधवप्रसाद पोखरेल, प्रा राजेन्द्र सुवेदी, तेजेश्वरबाबु ग्वङ्ग, डा बेञ्जु शर्मालगायतले कृतिका लागि शर्मालाई र पत्रिकाका निम्ति प्रतिष्ठानलाई शुभकामना दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्