काठमाडौं, भदौ १४ गते । यही भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीपछि हराइरहेका व्यक्तिको खोज तथा उद्धार कार्यलाई पाँच जलविद्युत् आयोजनाका सुरुङमा केन्द्रित गरिएको छ।
नेपाली सेनाका अनुसार माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, रसुवा–भोटेकोसी, लाङटाङ खोला र चिलिमे जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार कार्य भइरहेको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार विशेषगरी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा उद्धारलाई प्राथमिकता दिइएको छ। त्यहाँ मात्रै ९३ जना उद्धारकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो।
भोटेकोसी नदीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङका प्रवेशद्वार थुनिएपछि ठूलो संख्यामा कामदार सुरुङभित्र फसेको आशंका गरिएको छ। त्यसैले अहिले सुरुङको प्रवेशद्वार खुलाउने र भित्र फसेकाको खोजी तथा उद्धार गर्ने कार्यलाई प्राथमिकतामा राखिएको हो।
सुरुङभित्र खोज तथा उद्धारका लागि भारत र चीनबाट समेत विशेषज्ञ टोली परिचालन गरिएको छ। चिलिमे र लाङटाङ जलविद्युत् आयोजनाका सुरुङमा भारतीय विज्ञ टोलीले काम गरिरहेको छ भने रसुवा–भोटेकोसी आयोजनाको सुरुङमा चिनियाँ विज्ञ टोली परिचालन गरिएको छ।
प्रतिकूल मौसम, बाढीले पुर्याएको क्षति तथा सुरुङको जोखिमपूर्ण अवस्थाका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि नेपाली सेना, विदेशी प्राविधिक टोली तथा सम्बन्धित आयोजनाका प्राविधिक जनशक्तिबीच समन्वय गरेर खोज तथा उद्धारलाई अघि बढाइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्