बागलुङ, भदौ १४ गते । नेपाली समाजमा लामो समयसम्म सम्पर्कविहीन भएका व्यक्तिको १२ वर्षपछि काजक्रिया गर्ने चलन छ। तर, बागलुङका एक व्यक्ति घरबाट निस्किएको २४ वर्षपछि जीवितै घर फर्किएका छन्।
गलकोट नगरपालिका–११ रिघाका ५७ वर्षीय होमबहादुर घर्तीलाई २४ वर्षपछि मलेसियाबाट उद्धार गरी नेपाल ल्याइएको हो। लामो समयदेखि सम्पर्कविहीन रहेका घर्तीलाई मलेसियाको ग्रामीण क्षेत्रमा अत्यन्त दयनीय र असक्त अवस्थामा भेटिएको थियो। उनको आँखाको ज्योतिसमेत गुमिसकेको छ।
घर्ती सन् २००२ मा दलालमार्फत रोजगारीका लागि मलेसिया पुगेका थिए। त्यहाँ पुगेपछि आफूले सोचेजस्तो काम नपाएपछि उनी अन्य कामको खोजीमा भौँतारिए। त्यसक्रममा परिवारसँग सम्पर्क टुटेको थियो।
सम्पर्कविहीन भएको लामो समयसम्म उनको कुनै खबर नआएपछि परिवारले पनि खोजी गर्न सकेन। विदेश जान लिएको ऋणको भार भने परिवारमै रह्यो। पत्नी कल्पना घर्तीले मेलापात तथा मजदुरी गरेर छोराछोरी हुर्काइन्, पढाइन् र श्रीमान् विदेश जाँदा लागेको ऋणसमेत तिरिन्।
वर्षौंसम्म श्रीमान्को खबर नआएपछि गाउँघरमा विभिन्न कुरा सुनिए। कतिपयले उनको मृत्यु भइसकेको हुनसक्ने भन्दै आशासमेत मारिसकेका थिए। तर, कल्पनाले भने श्रीमान् कतै जीवितै भेटिन्छन् कि भन्ने आशा राखिरहिन्।
२४ वर्षपछि मलेसियाको ग्रामीण क्षेत्रमा दयनीय अवस्थामा रहेका होमबहादुरको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भयो। उक्त तस्बिर आफ्नै श्रीमान्को भएको परिवारले पहिचान गरेपछि कल्पनाले गलकोट नगरपालिकालाई जानकारी गराइन्।
नगरपालिकाकी मनोसामाजिक परामर्शकर्ता रजना उपाध्यायले जिल्ला प्रशासन कार्यालय र मलेसियास्थित आप्रवासी स्रोत केन्द्रमा जानकारी गराएपछि उद्धारका लागि पहल अघि बढ्यो। त्यसपछि कन्सुलर सेवा विभाग, प्रवासी नेपाली समन्वय समिति, मलेसियास्थित नेपाली दूतावास तथा त्यहाँ रहेका नेपाली समुदायको समन्वयमा होमबहादुरको उद्धार सम्भव भएको हो।
उद्धारपछि उनलाई गत फागुन १५ गते नेपाल ल्याइएको थियो। नेपाल फर्किएपछि परिवारले उनको उपचार तथा हेरचाह गरिरहेको छ। तर, उनको स्वास्थ्य अवस्था अझै सामान्य भइसकेको छैन। आँखाको ज्योति गुमिसकेको छ भने शारीरिक रूपमा पनि निकै कमजोर भएका कारण दैनिक सरसफाइका कामसमेत आफैँ गर्न सक्ने अवस्थामा छैनन्।
‘श्रीमान् त घर आए, मरे बाँचेको मतलब नभएको अवस्थामा छन्,’ कल्पनाले भनिन्, ‘अब पहिले जस्तो त बन्ने भएनन्। आँखा नदेख्ने भएकाले मैले नै स्याहार गरिरहेकी छु।’
होमबहादुर विदेश जाँदा उनका छोराहरू सानै थिए। २४ वर्षको अवधिमा कल्पनाले छोराछोरी हुर्काएर विवाहसमेत गराइसकेकी छन्। श्रीमान्को खोजी र फर्किने आशाबीच उनले एक्लै परिवारको जिम्मेवारी सम्हालिन्।
गैरकानुनी रूपमा मलेसियामा बसेका कारण होमबहादुरको रोजगारी, पारिश्रमिक, बीमा तथा क्षतिपूर्तिसम्बन्धी विवरणसमेत यकिन गर्न नसकिएको आप्रवासी स्रोत केन्द्र बागलुङकी परामर्शकर्ता गंगा रिजालले बताइन्।
‘कागजात नभएकाले पीडितलाई राहत, क्षतिपूर्ति र बीमासमेत दिलाउन सकिएन,’ रिजालले भनिन्, ‘आफ्ना कागजात सुरक्षित राख्ने र श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा जान सबैलाई सुझाव दिएका छौँ।’
मलेसियामा २४ वर्षसम्म होमबहादुर किन सम्पर्कविहीन भए, उनले कहाँ र कसरी जीवन बिताए भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन। असक्त अवस्थामा उद्धार गरिएकाले उनीसँग विस्तृत कुराकानी गर्न नसकिएको परामर्शकर्ता उपाध्यायले बताइन्।
वैदेशिक रोजगारीमा जाँदा सामान्य देखिने कानुनी तथा कागजी त्रुटिले पनि वर्षौंसम्म व्यक्ति र परिवारलाई ठूलो जोखिममा पार्न सक्ने भन्दै सम्बन्धित निकायले श्रम स्वीकृति, आवश्यक कागजात र कानुनी प्रक्रियाबारे सचेत हुन आग्रह गरेको छ।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्