काठमाडौं, २५ साउन । काठमाडौँ महानगरपालिका–१६ म्हैपी मन्दिर क्षेत्रमा ३३ सिसी क्यामरा जडान गरिएको छ ।
प्रदेश–३ सरकारको रु ५० लाख आर्थिक सहयोगमा म्हैपी मन्दिर वरपरका ३३ मुख्य मुख्य चोकमा सिसी क्यामरा जडान गरिएको हो । सिसी क्यामरा तथा नवनिर्मित शौचालयको आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गर्नुभयो ।
महानगरपालिका प्रमुख शाक्यले शान्त र सुरक्षित महानगर निर्माणका लागि सिसी क्यामरा जडानले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “सुरक्षित महानगरपालिका बनाउन काठमाडौँँँ महानगरपालिकाले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत नेपाल प्रहरीलाई रु पाँच करोड ८१ लाख आर्थिक सहयोग गरेको छ,”–उहाँले भन्नुभयो ।
प्रमुख शाक्यले महानगरको सबैभन्दा ठूलो १६ नम्बर वडा भएकाले बजेट विनियोजनमा विशेष प्राथमिकता दिएको उल्लेख गर्नुभयो । म्हैपी क्षेत्रको व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले यसभन्दा पहिला पनि रु एक करोड आर्थिक सहयोग गरेको उहाँको भनाइ थियो । प्रदेशसभा सदस्य वसन्त मानन्धरले म्हैपी क्षेत्रको संरक्षणमा चुनौती बढदै गएकाले प्रदेशसरकारले म्हैपी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताउनुभयो ।
“प्रदेश सरकारले मूर्त सम्पदाको साथसाथै अमूर्त संस्कृतिको जर्गेनाको लागि पनि विशेष प्राथमिकता दिएर काम गरिरहेको छ”, उहाँले भन्नुभयो । म्हैपी, नयाँबजार, विष्णुमति पुल, मनाङ गेटलगायतको क्षेत्रमा सिसी क्यामरा जडान गरिएको उहाँको भनाइ थियो ।महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले उपत्यकामा बढ्दै गएको अपराध नियन्त्रणका लागि सिसीटिभी क्यामरा जडानले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
“अपराध पत्ता लगाउन सिसीटिभी भरपर्दो माध्याम बन्दै गएको छ, सिसीटिभी क्यामरा जडानसँगै अपराधमा कमी आउनेछ”, उहाँले भन्नुभयो । सिसीटिभी क्यामराको निरीक्षण भने महानगरीय प्रहरी वृत्त लैनचौरले गर्नेछ । वडा अध्यक्ष मुकुन्द रिजालले १६ वडालाई महानगरकै नमूना वडाको रुपमा विकास गर्न जनप्रतिनिधिका हैसियतले आफू लागिरहेको बताउनुभयो । शहरी विकास विज्ञ पद्यसुन्दर जोशीले ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको म्हैपी क्षेत्रको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
प्रदेशसभाबाट विनियोजन भएको बजेटमध्ये रु ३० लाख बराबरले सिसीटिभी जडान र २० लाखले म्हैपी मन्दिर परिसरमा शौचालय निर्माण गरेको म्हैपी संरक्षण तथा व्यवस्थापन समितिका सचिव हिमलाल गिरीले जानकारी दिनुभयो । प्रदेशसभाबाट विनियोजित बजेट म्हैपी संरक्षण तथा व्यवस्थापन समिति र म्हैपी टोल सुधारसमिति जनमार्गको नेतृत्वमा कार्यान्वयनमा आएको हो ।
प्रतिक्रिया दिनुहोस्