काठमाडौं १ चैत । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुर्स्क क्षेत्रको भ्रमण गर्नुभएको छ । रुस–युक्रेन युद्ध शुरू भएपछि यो क्षेत्रमा उहाँको पहिलो भ्रमण हो । सार्वजनिक भएका तस्वीरहरूमा रुसी राष्ट्रपति पुटिन सैन्य पोशाकमा देखिनुभएको छ । रुसका चिफ अफ जनरल स्टाफले कुर्स्क क्षेत्रको ११ सय वर्ग किलोमिटर भूभाग युक्रेनको कब्जाबाट मुक्त गरिएको बताउनुभएको बीबीसीले जनाएको छ ।
युक्रेनले सन् २०२४ को अगस्टमा रुसको कुस्र्क क्षेत्रमा घुसपैठ गरी कब्जा गरेको थियो । त्यसपछि रुसले यहाँबाट हजारौं मानिसलाई यहाँबाट बाहिर निकालेको थियो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कुर्स्कको युद्धले बफर जोन बनाएको र पूर्वी युक्रेनमा रुसी सेना तैनाथ गर्न रोकेको बताउनुभएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत युद्धविरामको बारेमा कुरा गर्न मस्को पुग्दै हुनुहुन्छ । अमेरिकी टोली वार्ताका लागि मस्को पुग्दै गर्दा रुसले कुर्स्क क्षेत्र पुनः प्राप्त गर्ने अन्तिम चरणमा रहेको बताएको छ । तर अहिलेसम्म अमेरिकी प्रस्तावमा पुटिनबाट कुनै प्रतिक्रिया नआएको बीबीसीको खबरमा उल्लेख छ ।
यसअघि साउदी अरेबियामा भएको वार्तापछि युक्रेनले ३० दिनको तत्काल युद्धविरामका लागि अमेरिकी प्रस्तावमा सहमति जनाएको थियो र ट्रम्पले अहिले रुसलाई यसका लागि मनाउन खोजिरहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्