थ्युसिडाइड्सले ‘बलियाले जे सक्छन् त्यो गर्छन्—र कमजोरले जे भोग्नुपर्छ, त्यो भोग्छन्’ भन्न खोजेका हुन्?
समकालीन विश्वलाई सर्वत्र विश्लेषण र रणनीतिक दाउपेचहरू, विशेषगरी भूराजनीतिक प्रतिद्वन्द्वीताका सन्दर्भमा, एउटा यस्तो जंगलका रूपमा चित्रण गर्न थालिएको छ, जहाँ अन्ततः एउटै नियम लागू हुन्छ—जसको शक्ति उसको भक्ति (शक्तिशालीको शासन)। सन् २०२५ मा अमेरिकामा पुनः राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको फिर्तीले यही दृष्टिकोणलाई आफ्नो विदेश नीतिको आधार बनाएको भन्दै पश्चिमा विद्वान्हरू मथिङ्गल खियाइरहेका छन्। तथापि क्यारिबियन क्षेत्रमा लागूऔषध तस्करविरुद्धको सैन्य कारबाही, भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्ने धम्कीदेखि त्यसको कार्यान्वयन, गाजा नरसंहारको अनुमोदन हुँदै इरानमाथिको बमबारी, तथा आफ्नै सहयोगी राष्ट्रहरूको सार्वभौमिकतामाथि धावा बोल्ने खुला अभिव्यक्तिहरूका आधारमा ट्रम्पले केवल अमेरिकी शक्ति प्रदर्शन मात्र नगरी, त्यो नग्न हैकमवादी शैलीलाई मौलिक राजनीतिक सिद्धान्तकै रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेका छन्।

ट्रम्पले मादुरोमाथिको कारबाहीलाई ‘विश्व शक्तिलाई निर्धारण गर्ने फलामे नियमहरूको पुष्टि’ का रूपमा चित्रण गर्ने सन्दर्भमा ह्वाइट हाउसका उप–प्रमुख स्टाफ स्टेफन मिलरले भनेका थिए, ‘संसार बलद्वारा शासित छ। शक्ति नै यसको अन्तिम नियम हो, र सृष्टिको प्रारम्भदेखि नै यही संसारको अपरिवर्तनीय सत्य रहँदै आएको छ।’ यो रबैयाको अनुपालनले मानवीय सहअस्तित्वका सबैखाले दर्शनलाई समेत खारेज गर्ने अन्तर्निहित उद्देश्य स्पष्टै छ।
यी र यस्तैखाले शृंखलाबद्ध अभिव्यक्तिहरू र तिनको खुलमखुला कार्यान्वयनकै कारण प्रायः विश्लेषकलाई प्राचीन ग्रीक इतिहासकार थ्युसिडाइड्सको सम्झना गराउनु स्वाभाविक देखिन्छ। अन्तर्राष्ट्रिय सम्बन्धको यथार्थवादी (रियलपोलिटिक) परम्पराका प्रारम्भिक चिन्तकमध्ये एक मानिने थ्युसिडाइड्सले आफ्नो प्रसिद्ध ग्रन्थ द पेलोपोनेसियन वार मा एथेन्स र स्पार्टाबीचको दीर्घकालीन युद्धको विश्लेषण गरेका छन्। त्यही कृतिमा रहेको एउटा प्रसिद्ध भनाइ आजसम्म अन्तर्राष्ट्रिय राजनीतिमा सबैभन्दा धेरै उद्धृत हुने वाक्यमध्ये एक बनेको छ— ‘बलियाले आफूले गर्न सक्ने काम गर्छन्, र कमजोरले आफूले भोग्नुपर्ने नियति भोग्छन्।’
यो वाक्य ‘मेलियन संवाद’ भनिने प्रसंगबाट लिइएको हो। त्यस संवादमा एथेन्सका प्रतिनिधिहरूले सानो टापु–राज्य मिलोसका दूतहरूलाई विनाशर्त आत्मसमर्पण गर्न दबाब दिन्छन्। जब मेलियनहरूले त्यसलाई अस्वीकार गर्छन्, एथेन्सले मिलोस टापु कब्जा गर्नुका साथै सबै वयस्क पुरुषहरूको हत्या गर्छ र महिला तथा बालबालिकालाई दास बनाउँछ।

यही घटनालाई आधार बनाएर धेरैले थ्युसिडाइड्सलाई यस्तो चिन्तकका रूपमा व्याख्या गरेका छन्, जसले अन्तर्राष्ट्रिय राजनीतिमा शक्ति बाहेक अरू कुनै नैतिकता वा नियमको अस्तित्व स्वीकार गर्दैनथे। अन्तर्राष्ट्रिय सम्बन्धका विद्यार्थीहरूलाई पनि प्रायः यही अंश भ्रमात्मक रूपमा पढाइन्छ, जसका कारण थ्युसिडाइड्सको सम्पूर्ण दर्शन यही एउटा वाक्यमा सीमित भएको भ्रम फैलिएको हुनुपर्छ।
अमेरिकी इतिहासकार नायल फर्गुसनले आफ्नो चर्चित लेख ‘ट्रम्पले डाभोस कसरी जिते?’ मा मेलियन संवादलाई उद्धृत गर्दै ट्रम्पको विदेश नीतिलाई यथार्थवादको विजयका रूपमा चित्रण गरेका छन्। फर्गुसनका अनुसार, ‘मेलोसमा अन्ततः यथार्थवादीहरूले नै जित हासिल गरेका थिए।’
तर थ्युसिडाइड्स र मेलियन संवादको यस्तो व्याख्या उनको मूल सन्देशभन्दा विपरीत छ। वास्तवमा, थ्युसिडाइड्सले शक्तिशाली राष्ट्रले आफूले चाहेको सबै गर्न सक्छ भन्ने धारणा वर्णन त गर्छन्, तर त्यसलाई समर्थन गर्दैनन्। बरु, द पेलोपोनेसियन वार को गहिरो अध्ययनले बिल्कुलै फरक निष्कर्षसहित त्यसखाले जंगली प्रवृत्तिप्रति चेतावनी दिन्छ।
थ्युसिडाइड्सको सबैभन्दा महत्वपूर्ण शिक्षा के हो भने अत्यधिक शक्ति र अनियन्त्रित महत्वाकांक्षा अन्ततः शक्तिशाली राष्ट्रकै पतनको कारण बन्न सक्छ। मेलोसको विनाशको वर्णन गरेलगत्तै उनले एथेन्सको सिसिली अभियानको कथा प्रस्तुत गर्छन्—एउटा यस्तो सैन्य साहस, जसले अन्ततः एथेन्सको पराजय र स्पार्टाको विजयको आधार तयार गर्यो।
यस दृष्टिले हेर्दा, मेलियन संवाद शक्ति–राजनीतिको विजयगाथा होइन; शक्ति र अहंकारले अन्ततः आफ्नै विनाश निम्त्याउने चेतावनीपूर्ण दृष्टान्त र गम्भीर पाठ हो।
थ्युसिडाइड्सको वास्तविक ‘जाल’
राजनीतिशास्त्री ग्राहम एलिसन (२०१७) ले आफ्नो चर्चित पुस्तकका लागि द पेलोपोनेसियन वार बाट प्रेरणा लिएर ‘थ्युसिडाइड्स ट्र्याप’ भन्ने अवधारणालाई लोकप्रिय बनाउने श्रेय लिएका छन्। एलिसनका अनुसार, उदाउँदो शक्ति र विद्यमान महाशक्तिबीच बढ्ने तनाव प्रायः युद्धमा परिणत हुन्छ। यही अवधारणालाई पछिल्ला वर्षहरूमा अमेरिका–चीन सम्बन्धको विश्लेषणमा व्यापक रूपमा प्रयोग गरिएको छ। यसलाई प्रसिद्ध पत्रकार तथा केन्द्रवादी धाराका चिन्तक फरिद जकारियाले द एज अफ रिभोलुसन (२०२५) मा थप व्याख्या गरेका छन्।
तर थ्युसिडाइड्सलाई सावधानीपूर्वक पढ्दा उनको सन्देश यसभन्दा अझ गहिरो देखिन्छ।
उनले एथेन्स र स्पार्टाबीचको युद्धलाई कुनै अपरिहार्य दुर्घटना वा दुवै पक्ष अनजानमै फसेको ‘जाल’ का रूपमा चित्रण गरेका छैनन्। बरु, थ्युसिडाइड्सका अनुसार दुवै पक्षले सम्भावित परिणामको आकलनसहित नै युद्ध रोजेका थिए। उनीहरूले अन्धकारमा बन्दुक पड्काएका होइनन् भन्ने प्रस्ट देखिन्छ।
थ्युसिडाइड्सले प्रारम्भिक चरणमा एथेनियन नेता पेरिक्लेसको रणनीतिलाई विवेकपूर्ण र आवश्यक ठानेका छन्। पेरिक्लेसले स्पार्टासँगको संघर्षलाई संयम, धैर्य र दीर्घकालीन रणनीतिक सोचका साथ सञ्चालन गर्न खोजेका थिए। थ्युसिडाइड्सको दृष्टिमा युद्धको सुरुवात स्वयंमा कुनै ऐतिहासिक भूल थिएन।
वास्तविक त्रासदी धेरैपछि सुरु हुन्छ।
पेरिक्लेसको मृत्युपछि एथेन्सले संयम गुमायो। राजनीतिक नेतृत्व लोकप्रियतावाद, अतिआत्मविश्वास र विस्तारवादी महत्वाकांक्षाको प्रभावमा पर्यो। परिणामस्वरूप, उसले आफ्नो सामर्थ्यभन्दा धेरै ठूलो लक्ष्य पछ्याउन थाल्यो। यसको चरम उदाहरण थियो सिसिली अभियान—दूरवर्ती र विशाल सिसिली टापु जित्ने असावधानीपूर्ण प्रयास।
यहीँबाट थ्युसिडाइड्सले देखाउन खोजेको वास्तविक ‘जाल’ सुरु हुन्छ। उनको मूल चेतावनी युद्धको अपरिहार्यताभन्दा पनि अत्यधिक शक्ति, राजनीतिक अहंकार (हब्रिस) र अनियन्त्रित महत्वाकांक्षाले शक्तिशाली राष्ट्रलाई आफ्नै कारणले विनाशतर्फ धकेल्न सक्छ भन्ने हो।
यस अर्थमा द पेलोपोनेसियन वार शक्तिको महिमा गाउने पुस्तक मात्र नभई, शक्ति कसरी विवेकहीन हुँदा आत्मविनाशको माध्यम बन्छ भन्ने ऐतिहासिक चेतावनी हो।
अहंकारको मूल्य
थ्युसिडाइड्सको सम्पूर्ण कृतिको केन्द्रीय विषयवस्तु नै एथेन्सको बढ्दो अहंकार हो।
उनले शक्तिशाली राष्ट्र कसरी क्रमशः आफ्नो नैतिक नियन्त्रण गुमाउँदै जान्छ, आफ्नै अति सफलताबाट कसरी अन्धो बन्छ, र अन्ततः आफ्नै निर्णयहरूको शिकार बन्न पुग्छ भन्ने कुरा अत्यन्त सूक्ष्म ढंगले चित्रण गरेका छन्।
समकालीन पश्चिमा धेरै विश्लेषकहरूले मेलियन संवादलाई शक्तिको विजयको घोषणापत्रका रूपमा उद्धृत गर्छन्। तर थ्युसिडाइड्सको उद्देश्य त्यसको ठीक उल्टो देखिन्छ। हाम्रो छरछिमेकतिर त थ्युसिडाइड्सको नाम उल्लेख गर्नु नै विद्वान् कहलिनु हुनाले उनको नाम लिइएको देखिनु कुनै अनौठो कुरा भएन, किनकि नेपाल र दक्षिण एसियामा सिकाइ र ज्ञान परम्परा अन्धविश्वास, ढोंग, जातीय तथा धार्मिक उन्माद र सामाजिक सञ्जालको एल्गोरिदमको विस्फोटको महामारीमा परेको छ।
थ्युसिडाइड्सले के देखाउन खोजेका छन् भने जब कुनै शक्ति आफूलाई नियमभन्दा माथि ठान्न थाल्छ, तब त्यसको पतनको घडी सुरु भइसकेको हुन्छ। ग्राहम एलिसन र जकरियाले अमेरिकालाई यही चेतावनी दिइरहेका छन्; मेलोसका रूपमा चीनको तुलना त्यति सान्दर्भिक नभए पनि प्रासंगिक त हुने नै भइहाल्यो।
यसरी हेर्दा मेलियन संवाद शक्ति–राजनीतिको आदर्श नमूना होइन; त्यो त अहंकार, नैतिक पतन र साम्राज्यवादी अन्धोपनको प्रारम्भिक संकेत हो।
कथामा लुकेको सत्य
मेलियन संवादको वास्तविक अर्थ बुझ्न त्यसलाई सम्पूर्ण द पेलोपोनेसियन वार को सन्दर्भमा पढ्नुपर्छ। केही चर्चित उद्धरण मात्र पढेर थ्युसिडाइड्सको निष्कर्ष निकाल्नु उचित हुँदैन।
एथेन्स र स्पार्टाबीचको युद्ध ईसापूर्व ४३१ देखि ४०४ सम्म गरी करिब २७ वर्ष चल्यो। थ्युसिडाइड्सले यसलाई तीन प्रमुख चरणमा वर्गीकरण गरेका छन्:
- पहिलो, करिब दस वर्षसम्म चलेको प्रत्यक्ष युद्ध
- दोस्रो, सात वर्षको अस्थिर युद्धविराम र राजनीतिक प्रतिस्पर्धा
- अन्तिम, पुनः सुरु भएको युद्ध, जसको अन्त्य एथेन्सको पूर्ण पराजय र आत्मसमर्पणमा भयो
थ्युसिडाइड्स युद्धको अन्त्यसम्म जीवित रहे पनि आफ्नो कृति पूरा गर्न सकेनन्। उनका विवरणहरू ईसापूर्व ४११ मा आएर अचानक समाप्त हुन्छन्।
तर उनले सुरुदेखि नै यो युद्ध इतिहासको निर्णायक घटना बन्ने विश्वास गरेका थिए। निर्वासनमा बिताएको समय उनले यही युद्धलाई भावी पुस्ताका लागि तथ्यपरक रूपमा अभिलेख गर्न समर्पित गरे। त्यसैले उनले आफ्नो कृतिलाई ‘सबै समयका लागि रहने सम्पत्ति’ (अ पोसेसन फर अल टाइम) भनेर वर्णन गरेका छन्।
मिलोसका सबै वयस्क पुरुष मारिए। महिला र बालबालिका दास बनाइए। थ्युसिडाइड्सले यो परिवर्तनलाई प्रत्यक्ष टिप्पणी नगरी पाठकलाई आफैं बुझ्न छोडिदिएका छन्। उनले सोधेजस्तो लाग्छ—के एउटै एथेन्सले यी दुवै निर्णय गरेको हो?
यही कारणले उनको इतिहासलेखन केवल घटनाहरूको सूची होइन; यो शक्ति, राजनीति, युद्ध र मानवीय स्वभावको गहिरो विश्लेषण बनेको छ।
इतिहासलेखन कि राजनीतिक शिक्षा ?
थ्युसिडाइड्सले द पेलोपोनेसियन वार केवल एउटा युद्धको इतिहास लेख्नका लागि मात्र लेखेका थिएनन्। उनी भविष्यका पुस्ताले शक्ति, राजनीति र युद्धको स्वभाव बुझून् भन्ने चाहन्थे।
सैन्य कमाण्डरका रूपमा असफल भएपछि उनी ईसापूर्व ४२४ मा निर्वासित भए। यही निर्वासनले उनलाई युद्धलाई नजिकबाट अध्ययन गर्ने, विभिन्न पक्षका मानिसहरूसँग भेटघाट गर्ने र घटनाहरूको तथ्यगत परीक्षण गर्ने पर्याप्त समय दियो।
इतिहासकारका रूपमा उनको सबैभन्दा ठूलो महत्वाकांक्षा यथार्थ, निष्पक्षता र तथ्यगत शुद्धता थियो। उनी आफूले प्रत्यक्ष नदेखेका घटनाहरूका अनेक स्रोतहरू तुलना गर्थे, विवरणहरू मिलाउँथे र सकेसम्म सत्यको नजिक पुग्ने प्रयास गर्थे।
भाषणहरूको सन्दर्भमा उनले आफैं स्वीकार गरेका छन्—
‘कतिपय भाषण मैले आफैं सुनेँ, कतिपय अरूबाट प्राप्त गरेँ। शब्दशः सम्झन सम्भव थिएन। त्यसैले वक्ताले त्यस परिस्थितिमा के भन्नुपर्थ्यो भन्ने भावलाई यथासम्भव सुरक्षित राख्दै मैले ती भाषण पुनर्निर्माण गरेको हुँ।’
यस स्वीकारोक्तिले थ्युसिडाइड्सको बौद्धिक इमानदारिता देखाउँछ। उनले आफूले सबै कुरा अक्षरशः उद्धृत गर्न सकेको दाबी गर्दैनन्। बरु, घटनाको सार र तर्कलाई विश्वसनीय रूपमा प्रस्तुत गर्ने प्रयास गरेको स्पष्ट पार्छन्।
पूर्ण निष्पक्षता सम्भव छ ?
थ्युसिडाइड्स वस्तुनिष्ठ हुन चाहन्थे। तर कुनै पनि इतिहासकार पूर्ण रूपमा दृष्टिकोणविहीन हुन सक्दैन।
उनको पनि आफ्नै राजनीतिक दृष्टि, नैतिक मूल्य र ऐतिहासिक निष्कर्ष थिए। तर उनले ती विचार पाठकमाथि प्रत्यक्ष थोपरेका छैनन्।
बरु, उनले घटनाहरूको चयन, क्रम, विस्तार र संरचना मार्फत आफ्ना निष्कर्षहरू पाठकलाई आफैं निकाल्न प्रेरित गरेका छन्।
उनका पहिलो प्रसिद्ध अंग्रेजी अनुवादक थोमस हब्सले यसबारे अत्यन्त रोचक टिप्पणी गरेका छन्। हब्सका अनुसार,
‘थ्युसिडाइड्सले कहिल्यै प्रत्यक्ष रूपमा नैतिक वा राजनीतिक प्रवचन दिएका छैनन्। तर उनको कथा स्वयंले पाठकलाई मौन रूपमा शिक्षा दिन्छ।’
फ्रान्सेली शास्त्रीय विदुषी ज्याकलिन डे रोमिली (द माइन्ड अफ थ्युसिडाइड्स, २०१२) ले पनि यही कुरा दोहोर्याएकी छन्। रोमिलीका अनुसार थ्युसिडाइड्सले वस्तुनिष्ठताको अद्भुत अभ्यास गरे पनि, उनले कुन घटनालाई कति महत्व दिने भन्ने निर्णय सधैं सचेत रूपमा गरेका छन्। त्यसैले उनको हस्तक्षेप प्रत्यक्ष नभए पनि अत्यन्त गहिरो छ।
थ्युसिडाइड्सको कथन–शैली
थ्युसिडाइड्सको लेखनको अर्को उल्लेखनीय विशेषता हो—कथाको गति नियन्त्रण गर्ने कला।
कतिपय अवस्थामा उनले पूरा एक वर्षको युद्धलाई केही अनुच्छेदमै समेटिदिन्छन्। तर कहिलेकाहीँ सैन्य दृष्टिले त्यति निर्णायक नदेखिने घटनाहरूलाई उनले असाधारण विस्तारका साथ वर्णन गर्छन्।
यसलाई आधुनिक साहित्यिक विश्लेषणमा ‘न्यारेटिभ स्लोडाउन’ अर्थात् ‘कथात्मक मन्दी’ (करिन कुकोनेन, २०१९) भनिन्छ।
जब लेखक कुनै विशेष घटनामा असामान्य रूपमा लामो समय बिताउँछन्, त्यसले पाठकलाई एउटा संकेत दिन्छ—’यस घटनाभित्र मैले विशेष अर्थ लुकाएको छु।’
थ्युसिडाइड्स यही शैलीका कुशल प्रयोगकर्ता थिए। उनले घटनाहरूको मात्र अभिलेख राख्दैनन्; कुन घटनाबाट कुन राजनीतिक वा नैतिक शिक्षा लिनुपर्छ भन्ने संकेत पनि कथाको संरचनामै लुकाइदिन्छन्।
मेलियन संवाद किन यति महत्वपूर्ण छ ?
यही कारणले मेलियन संवाद सम्पूर्ण पुस्तकको सबैभन्दा चर्चित अध्याय बनेको हो।
युद्धको समग्र परिणाममा हेर्दा मिलोसको सैन्य महत्व अत्यन्त सीमित थियो। त्यो सानो टापुको कब्जाले युद्धको रणनीतिक दिशामा कुनै निर्णायक परिवर्तन ल्याएको थिएन।
यद्यपि थ्युसिडाइड्सले यस घटनालाई असाधारण विस्तार दिएका छन्।
किन ?
यसको उत्तर केवल घटनामा होइन, घटनाको प्रतीकात्मक अर्थमा लुकेको छ।
मेलियन संवाद एथेन्सले एउटा सानो र कमजोर राज्यसँग कसरी व्यवहार गर्यो भन्ने कथा मात्र होइन; त्यो शक्तिले आफ्नै सीमाबोध गुमाउँदा के हुन्छ भन्ने मनोवैज्ञानिक र रणनीतिक अध्ययन पनि हो।
थ्युसिडाइड्सका लागि मिलोस कुनै साधारण टापु थिएन। त्यो साम्राज्यवादी अहंकारको प्रयोगशाला थियो। यही कारणले उनले सम्पूर्ण पुस्तकमा एउटै मात्र पूर्ण संवादको शैली प्रयोग गरेर मेलोसको प्रसंग प्रस्तुत गरेका छन्।
यसले पाठकलाई एउटा प्रश्न सोध्न बाध्य बनाउँछ— के शक्ति नै अन्तिम सत्य हो, वा शक्ति पनि आफ्नै अहंकारको बन्दी बन्न सक्छ?
यहीँबाट थ्युसिडाइड्सको वास्तविक सन्देश सुरु हुन्छ। मेलियन संवादको उद्देश्य एथेन्सको शक्ति प्रदर्शनको प्रशंसा गर्नु होइन। बरु, यही संवादबाट उनले देखाउन खोजेका के हो भने जब कुनै महाशक्तिले आफूलाई नैतिक उत्तरदायित्वभन्दा माथि राख्न थाल्छ, त्यसको पतनको यात्रा पनि त्यही क्षणबाट सुरु हुन्छ।
यही कारणले मेलोसको घटनापछि थ्युसिडाइड्सले तत्कालै अर्को विशाल प्रसंग—सिसिली अभियान—सुरु गर्छन्। यो क्रम कुनै संयोग होइन; यो उनको इतिहास लेख्ने शैलीको सबैभन्दा शक्तिशाली संरचनात्मक प्रयोग हो।
मेलियन संवाद: एउटा सानो टापु किन इतिहासको केन्द्र बन्यो?
मेलियन संवाद थ्युसिडाइड्सको सम्पूर्ण कृतिमा कथाको गति असाधारण रूपमा सुस्त बनाइएको दुर्लभ प्रसंग हो। यस कारणले यो अध्याय शताब्दीयौंदेखि राजनीतिक चिन्तनको केन्द्रमा रहँदै आएको छ। तर एउटा प्रश्न भने अझै पनि उत्तिकै महत्वपूर्ण छ—थ्युसिडाइड्सले मिलोसलाई यति ठूलो महत्व किन दिए?
युद्धको सोह्रौँ वर्षमा, जब एथेन्स र स्पार्टाबीच औपचारिक रूपमा युद्धविराम कायम भएको थियो, एथेन्सले एजियन सागरको सानो टापु मिलोसतर्फ आफ्नो सैन्य ध्यान केन्द्रित गर्यो। स्पार्टासँग ऐतिहासिक सम्बन्ध भए पनि मिलोस युद्धमा प्रत्यक्ष रूपमा संलग्न थिएन। त्यसले तटस्थ रहन चाहन्थ्यो र कुनै पक्षको युद्धमा सहभागी हुन अस्वीकार गरेको थियो।
तर एथेन्सका लागि तटस्थता पनि स्वीकार्य थिएन (जसरी अहिले वैश्विक साम्राज्यवादी शक्तिहरूले पटक–पटक यस्तै गर्ने गर्दछन्)। उसले मेलियनहरूसमक्ष स्पष्ट विकल्प राख्यो—बिनासर्त आत्मसमर्पण गर, अन्यथा पूर्ण विनाशका लागि तयार होऊ।
शक्तिको भाषा र न्यायको प्रश्न
थ्युसिडाइड्स यहीँबाट आफ्नो कथालाई केही समयका लागि रोक्छन् र एथेन्स तथा मिलोसका प्रतिनिधिबीच भएको लामो संवाद प्रस्तुत गर्छन्।
यो सम्पूर्ण द पेलोपोनेसियन वार मा पाइने एकमात्र पूर्ण संवादात्मक अध्याय हो। यसमा दुवै पक्षले पालैपालो आफ्ना तर्क राख्छन्।
मेलियनहरू न्याय, नैतिकता, स्वतन्त्रता र भविष्यको परिणामको आधारमा आफ्नो अस्तित्वको पक्षमा तर्क गर्छन्।
एथेनियनहरू भने कुनै नैतिक बहसमा प्रवेश गर्दैनन्, गर्नै चाहँदैनन्। उनीहरूको एउटै तर्क छ— राजनीतिमा न्याय होइन, शक्ति निर्णायक हुन्छ। उनीहरू भन्छन्—
‘शक्तिशालीले आफूले गर्न सक्ने काम गर्छ; कमजोरले आफूले सहनुपर्ने नियति स्वीकार गर्नुपर्छ।’
यही वाक्य पछि अन्तर्राष्ट्रिय सम्बन्धको सबैभन्दा चर्चित उद्धरण बन्दै आएको छ। बाँकी पाठ र तात्कालिक सन्दर्भलाई स्मरण गर्न त्यति रुचाइँदैन।
वार्ताको अन्त्य र एउटा सभ्यताको परीक्षा
संवादको अन्त्यमा मेलियनहरूले आत्मसमर्पण अस्वीकार गर्छन्। केही समयसम्म प्रतिरोध जारी रहन्छ। अन्ततः एथेन्सले मिलोसमाथि पूर्ण नियन्त्रण स्थापित गर्छ।
त्यसपछि थ्युसिडाइड्स अत्यन्त संक्षिप्त तर भयावह वाक्य लेख्छन्— एथेनियनहरूले सबै वयस्क पुरुषहरूको हत्या गरे। महिला र बालबालिकालाई दास बनाए। त्यसपछि आफ्नै उपनिवेशवादीहरूलाई त्यहाँ बसोबास गराए।
इतिहासका धेरै नरसंहारहरूभन्दा यो घटना सैन्य दृष्टिले ठूलो थिएन। तर थ्युसिडाइड्सका लागि यसको अर्थ अत्यन्त ठूलो थियो।
किन यति धेरै महत्व?
यहीँबाट एउटा गम्भीर प्रश्न उठ्छ। यदि मिलोस युद्धको निर्णायक मोर्चा थिएन भने थ्युसिडाइड्सले यस घटनामा यति धेरै समय किन खर्चिए?
वास्तवमा मेलोसको पतनले युद्धको परिणाममा कुनै ठोस रणनीतिक परिवर्तन ल्याएको थिएन। त्यसैले धेरै विद्वान्हरू के मान्छन् भने थ्युसिडाइड्सको चासो युद्धको परिणामभन्दा पनि एथेन्सको नैतिक अवस्थाबारे थियो।
मिलोसको कथा वास्तवमा एउटा टापुको विनाशको कथा होइन। यो एउटा महाशक्ति कसरी आफ्नै सफलताले मदमत्त बन्दै जान्छ भन्नेबारेको विषद अध्ययन हो।
‘बलियाले जे सक्छन्…’—के यो नयाँ विचार थियो ?

आज धेरैले मेलियन संवादलाई शक्ति–राजनीतिको सबैभन्दा स्पष्ट उदाहरण मान्छन्। तर थ्युसिडाइड्सको पुस्तकभित्र हेर्दा यो धारणा पहिलो पटक व्यक्त गरिएको होइन।
करिब सोह्र वर्षअघि नै स्पार्टाका प्रतिनिधिसँगको अर्को वार्तामा एथेनियनहरूले लगभग उही विचार व्यक्त गरेका थिए। उनीहरूले त्यतिबेला भनेका थिए— ‘यो सधैँदेखि चलिआएको नियम हो—कमजोर बलियाको अधीनमा रहन्छ।’
अर्थात्, ‘शक्ति नै नियम हो’ भन्ने धारणा थ्युसिडाइड्सको मौलिक निष्कर्ष होइन। त्यो त एथेन्सले आफैंलाई उचित ठहर्याउन प्रयोग गरेको राजनीतिक तर्क थियो। यही कारणले थ्युसिडाइड्सको व्यक्तिगत विचार र एथेन्सका पात्रहरूले बोलेका संवादलाई एउटै ठान्नु ठूलो भूल हुन्छ।
थ्युसिडाइड्सले वास्तवमा के देखाउन खोजेका थिए ?
द पेलोपोनेसियन वार पुस्तकभरि यस्ता अनेक घटना छन् जहाँ शक्तिशालीहरूले अत्यन्त क्रूर व्यवहार गर्छन्। प्लाटियाको विनाश, नागरिकहरूको सामूहिक हत्या, महिला र बालबालिकालाई दास बनाउने निर्णय, युद्धबन्दीहरूको निर्मम वध—यी सबै घटनाहरू पुस्तकभरि छरिएका छन्।
यदि केवल क्रूरता देखाउनु नै उद्देश्य भएको भए मिलोस कुनै विशेष घटना हुने थिएन। तर थ्युसिडाइड्सले मिलोसलाई विशेष बनाए, किनभने त्यहाँ उनले शक्ति र नैतिकताको अन्तिम टकराव देखाएका छन्। एथेन्सले सैन्य विजय त हासिल गर्यो, तर त्यही क्षण उसले आफ्नो नैतिक श्रेष्ठता पनि गुमाएको वास्तविकता देखाउनु नै उनको उद्देश्य देखिन्छ।
त्यसैले मेलियन संवाद कुनै विजयी राष्ट्रको उत्सव होइन। यो एउटा सभ्य समाज कसरी विस्तारै आफ्नै नैतिक आधारबाट विचलित हुँदै जान्छ भन्ने चेतावनी हो।
कथाभित्र लुकेको संकेत
थ्युसिडाइड्स कहिल्यै प्रत्यक्ष रूपमा पाठ सिकाउँदैनन्। तर उनले कथाको संरचनामार्फत एउटा सूक्ष्म संकेत दिन्छन्। मेलोसको विनाशपछि उनी तुरुन्तै अर्को प्रसंग—सिसिली अभियान—सुरु गर्छन्।
त्यसपछि थ्युसिडाइड्स अत्यन्त संक्षिप्त तर भयावह वाक्य लेख्छन्— एथेनियनहरूले सबै वयस्क पुरुषहरूको हत्या गरे। महिला र बालबालिकालाई दास बनाए। त्यसपछि आफ्नै उपनिवेशवादीहरूलाई त्यहाँ बसोबास गराए।
यो क्रम संयोग होइन। उनले पाठकलाई आफैं एउटा सम्बन्ध जोड्न आग्रह गरिरहेका हुन्छन्— मिलोसमा देखिएको अहंकार केही समयपछि सिसिलीमा एथेन्सकै विनाशको कारण बन्नेछ। त्यसैले मेलियन संवाद वास्तवमा पुस्तकको अन्त्य होइन। त्यो त एथेन्सको पतनको प्रस्तावना हो।
एथेन्सको नैतिक पतन
मेलियन संवादको वास्तविक अर्थ मिलोसको भाग्यमा भन्दा पनि एथेन्सको चरित्रमा लुकेको छ। थ्युसिडाइड्सका लागि यो प्रसंग एउटा सानो टापुमाथि भएको सैन्य विजयको कथा होइन; यो लामो युद्धले एउटा लोकतान्त्रिक समाजलाई कसरी नैतिक रूपमा धरासायी गरायो भन्ने अध्ययन हो।
द पेलोपोनेसियन वार पुस्तकभरि थ्युसिडाइड्सले बारम्बार एउटा विषय दोहोर्याउँछन्—’युद्धले मानिसको स्वभाव परिवर्तन गर्छ।’ लामो समयसम्म चल्ने हिंसा, भय र असुरक्षाले समाजको नैतिक आधार कमजोर बनाउँदै लैजान्छ। कानुन, मर्यादा र राजनीतिक विवेक क्रमशः शक्तिको अगाडि झुक्न थाल्छन्।
यही कारणले उनी केवल युद्धका सैन्य घटनाहरू मात्र वर्णन गर्दैनन्। कोर्फुमा भएको गृहयुद्ध, एथेन्समा महामारी फैलिँदा देखिएको कानुनहीनता, र माइकालेससमा निर्दोष नागरिकमाथि गरिएको निर्मम नरसंहारजस्ता घटनाहरूलाई पनि उनले असाधारण रूपले विस्तारपूर्वक चर्चा गरेका छन्। यी सबै उदाहरणहरूले एउटै निष्कर्षतर्फ संकेत गर्छन्—’युद्धले केवल शहरहरू ध्वस्त पार्दैन, समाजको नैतिक चेतनालाई पनि क्षतविक्षत बनाउँछ।’
मिटिलेनदेखि मिलोससम्म
एथेन्सको नैतिक रूपान्तरण बुझ्न थ्युसिडाइड्सले प्रत्यक्ष तुलना नगरे पनि पाठकलाई दुई घटनाबीच सम्बन्ध जोड्न प्रेरित गर्छन्—मिटिलेन र मिलोस।
मिटिलेन एथेन्सको शक्तिशाली सहयोगी थियो। उसले विद्रोह गरेर स्पार्टासँग मिल्ने प्रयास गर्यो। यो एथेन्समाथिको स्पष्ट राजनीतिक विश्वासघात थियो।
विद्रोह दबाइएपछि एथेन्सको जनसभामा चर्को बहस भयो। जनउत्तेजक नेता (डेमागग) क्लिओनले सम्पूर्ण वयस्क पुरुषहरूको हत्या गर्न तथा महिला र बालबालिकालाई दास बनाउन प्रस्ताव राखे। पहिलो दिन त्यो प्रस्ताव स्वीकृत भयो।
तर रात बित्दै जाँदा धेरै एथेनियनहरूले आफ्नै निर्णयमाथि पुनर्विचार गरे। अर्को दिन पुनः सभा बोलाइयो। यसपटक लामो बहसपछि बहुमतले नरसंहारको निर्णय उल्टाइदियो।
थ्युसिडाइड्सले यो दृश्य अत्यन्त नाटकीय ढंगले वर्णन गरेका छन्। नरसंहार रोक्ने आदेश बोकेको दोस्रो जहाज तीव्र गतिमा मिटिलेनतर्फ दौडिन्छ। नाविकहरूले समय बचाउन पालैपालो खाना खान्छन्, पालैपालो सुत्छन्, र सकेसम्म छिटो पुग्ने प्रयास गर्छन्। अन्ततः त्यो जहाज समयमै पुग्छ र हजारौँ मानिसको ज्यान जोगिन्छ।
यो प्रसंगले के देखाउँछ भने त्यतिबेलासम्म एथेन्समा आत्मालोचना गर्ने क्षमता जीवितै थियो।
मिलोसमा किन त्यो विवेक हरायो ?
मिटिलेनको घटनापछि करिब एक दशक बित्छ। अब एथेन्स पहिलेको जस्तो रहेन।
मिलोसले कुनै विद्रोह गरेको थिएन। उसले एथेन्सविरुद्ध युद्ध पनि छेडेको थिएन। उसको एउटै आग्रह थियो—हामीलाई तटस्थ रहन देऊ।
तर यसपटक कुनै बहस भएन। कुनै दोस्रो विचार आएन। कुनै जहाज निर्णय उल्ट्याउन हतारिएन।
मिलोसका सबै वयस्क पुरुष मारिए। महिला र बालबालिका दास बनाइए। थ्युसिडाइड्सले यो परिवर्तनलाई प्रत्यक्ष टिप्पणी नगरी पाठकलाई आफैं बुझ्न छोडिदिएका छन्। उनले सोधेजस्तो लाग्छ—के एउटै एथेन्सले यी दुवै निर्णय गरेको हो?
युद्धले लोकतन्त्रलाई पनि बदल्न सक्छ
मिलोसको प्रसंगबाट थ्युसिडाइड्सले एउटा गम्भीर राजनीतिक निष्कर्ष निकाल्छन्। लोकतन्त्र आफैँले नैतिकता सुनिश्चित गर्दैन।
यदि समाज लामो समयसम्म युद्ध, भय र साम्राज्यवादी विस्तारको मानसिकतामा बाँच्छ भने लोकतान्त्रिक संस्थाहरू पनि क्रमशः क्रूरताको औजार बन्न सक्छन्। यही कारणले मेलियन संवाद केवल विदेश नीतिको कथा होइन।
यो लोकतन्त्रको नैतिक स्वास्थ्यको कथा हो भन्ने बुझ्नु र आत्मसात् गर्नु समकालीन दुनियाका लागि थ्युसिडाइड्सको सबैभन्दा ठूलो शिक्षा हो।
सिसिलीतर्फको यात्रा
मिलोसको कथा समाप्त भएको केही हरफपछि थ्युसिडाइड्स एउटा अत्यन्त महत्त्वपूर्ण वाक्य लेख्छन्—
‘त्यही हिउँदमा एथेनियनहरूले फेरि सिसिली जाने निर्णय गरे। यदि सम्भव भयो भने, सम्पूर्ण टापुमाथि अधिकार जमाउने उनीहरूको उद्देश्य थियो।’
यही एउटा वाक्यले सम्पूर्ण पुस्तकको दिशा बदलिदिन्छ। मिलोसमा एउटा सानो टापुमाथि विजय प्राप्त गरेको एथेन्स अब भूमध्यसागरकै सबैभन्दा ठूलो सैन्य अभियान सुरु गर्न लागिरहेको थियो।
सिसिली केवल अर्को युद्ध थिएन। त्यो एथेन्सको अतृप्त महत्वाकांक्षाको चरम अभिव्यक्ति थियो। सिसिली अभियान आवश्यक थिएन। त्यसले एथेन्सको अस्तित्व जोगाउने पनि थिएन। त्यो त आफ्नैखाले विजयको नशामा डुबेको साम्राज्यको विस्तारवादी सपना मात्र थियो।
थ्युसिडाइड्सले आफ्नो सम्पूर्ण कृतिको करिब एक चौथाइ भाग यही अभियानलाई समर्पित गरेका छन्। यसबाट स्पष्ट हुन्छ—उनको दृष्टिमा युद्धको निर्णायक मोड मिलोस होइन, सिसिली थियो। तर सिसिली बुझ्न मिलोस बुझ्नु आवश्यक छ, किनभने मिलोसमा पहिलो पटक एथेन्सले आफूलाई सीमाभन्दा माथि ठान्न थाल्यो। त्यही मानसिकता केही समयपछि सिसिलीमा उसको विनाशको कारण बन्यो।
मिलोस र सिसिली: एउटै कथाका दुई अध्याय
थ्युसिडाइड्सको कथा संरचना अत्यन्त योजनाबद्ध छ। पहिले उनले मेलियन संवादमार्फत अहंकारको मनोविज्ञान देखाउँछन्। त्यसपछि सिसिली अभियानमार्फत त्यस अहंकारको परिणाम देखाउँछन्।
अन्ततः उनी लेख्छन्—
‘उनीहरू पूर्ण रूपमा पराजित भए। उनीहरूको जहाज, सेना र सम्पूर्ण अभियान नष्ट भयो। थोरैमध्ये थोरै मात्र स्वदेश फर्कन सके।’
यही वाक्य थ्युसिडाइड्सको सम्पूर्ण राजनीतिक दर्शनको सार हो। मिलोसमा शक्ति विजयी भएको थियो। सिसिलीमा त्यही शक्ति आफ्नै अहंकारसँग पराजित भयो।
मेलियनहरू पराजित भए, तर तर्कमा विजयी भए
सैन्य दृष्टिले हेर्दा मिलोसको कथा एथेन्सको स्पष्ट विजयमा टुंगिन्छ। सानो टापु नष्ट भयो, उसका नागरिक मारिए वा दास बनाइए, र एथेन्सले आफ्नो साम्राज्य विस्तार गर्यो। तर थ्युसिडाइड्सका लागि विजयको मापन युद्धभूमिमा मात्र हुँदैन। उनले पाठकलाई अर्को प्रश्न सोध्न बाध्य पार्छन्—के सैन्य विजय नै अन्तिम विजय हो?
मेलियन संवादमा मेलियनहरूले बारम्बार एथेनियनहरूलाई चेतावनी दिन्छन्—शक्ति विवेकविहीन भयो भने त्यसको परिणाम अन्ततः शक्तिशालीकै विरुद्ध फर्किन्छ। उनीहरू भन्छन्—
‘यदि तपाईं आज हामीमाथि अन्याय गर्नुहुन्छ भने, भोलि संसारका अरू सबै तटस्थ राज्यहरूले पनि तपाईंलाई त्यही दृष्टिले हेर्नेछन्। उनीहरूले निष्कर्ष निकाल्नेछन् कि एक दिन उनीहरूको पालो पनि आउनेछ।’
यो केवल भावनात्मक अपिल थिएन। यो दीर्घकालीन रणनीतिक चेतावनी थियो। मेलियनहरूको तर्क थियो—क्रूरताले तत्कालीन विजय त दिलाउन सक्छ, तर त्यसले विश्वास, वैधता र मित्रता गुमाउँछ।
यही बिन्दुमा थ्युसिडाइड्स मेलियनहरूको पक्षमा उभिएको स्पष्ट देखिन्छ। उनले प्रत्यक्ष रूपमा ‘मेलियनहरू सही थिए’ भन्दैनन्, तर सम्पूर्ण कथाको संरचनाले त्यही निष्कर्षतर्फ पाठकलाई डोर्याउँछ।
जेनोफोनले पूरा गरेको कथा
थ्युसिडाइड्सको पुस्तक ईसापूर्व ४११ मा आएर अचानक समाप्त हुन्छ। त्यसपछि युद्धको अन्तिम चरणको विवरण इतिहासकार जेनोफोनले आफ्नो हेलेनिका मा दिएका छन्। जेनोफोनले त्यहीँबाट कथा सुरु गर्दै ईसापूर्व ४११ देखि ३६२ सम्म करिब पाँच दशकको ग्रीक इतिहासलाई सात वटा पुस्तकमा समेटेका छन्।
जेनोफोनका अनुसार, युद्धको अन्त्यमा स्पार्टा र उसका सहयोगीहरूले एथेन्सलाई कस्तो दण्ड दिने भन्ने विषयमा छलफल गरे। धेरै सहयोगी राज्यहरूको माग स्पष्ट थियो—एथेन्सलाई पूर्ण रूपमा ध्वस्त पारियोस्।
किन? किनभने एथेन्सले पहिले अरू साना राज्यहरूमाथि त्यही व्यवहार गरेको थियो। जेनोफोन लेख्छन्—त्यसबेला एथेनियनहरूलाई पहिलो पटक आफ्नै विगत सम्झना आयो। उनीहरू डराए, किनभने उनीहरूले महसुस गरे—’हामीले अरूमाथि गरेका अत्याचार अब हामीमाथि पनि दोहोरिन सक्छन्।’ यो केवल सैन्य पराजयको डर थिएन। यो आफ्नै कर्मको प्रतिफलको डर थियो।
अहंकारको मूल्य
जेनोफोनको विवरणले थ्युसिडाइड्सको मूल सन्देशलाई अझ स्पष्ट बनाउँछ। मेलोसमा एथेन्सले जुन तर्क प्रयोग गरेको थियो—’शक्तिशालीले जे चाह्यो, त्यही गर्छ’—त्यही तर्क केही वर्षपछि स्पार्टाले पनि प्रयोग गर्न सक्थ्यो। इतिहासको यही विडम्बना थ्युसिडाइड्सले देखाउन खोजेका थिए।
यदि शक्ति नै अन्तिम नियम हो भने, आजको विजेता भोलिको पीडित बन्नबाट कसैले पनि बचाउन सक्दैन। यसैले मेलियनहरूको चेतावनी केवल नैतिक अपिल थिएन; त्यो यथार्थवादी रणनीतिक चेतावनी पनि थियो।
ईश्वर, भाग्य र मानवीय अहंकार
मेलियन संवादको अर्को रोचक पक्ष एथेन्सको धार्मिक दृष्टिकोण हो। जब मेलियनहरूले देवताले अन्यायको पक्ष नलिने तर्क गर्छन्, एथेनियनहरू त्यसलाई उपहास गर्छन्। उनीहरू भन्छन् कि मानिसहरूले भविष्यवाणी, ओरेकल र अदृश्य शक्तिमा विश्वास गरेर आफूलाई भ्रममा राख्छन्।
तर केही समयपछि, सिसिली अभियान असफल भएपछि, तिनै एथेनियनहरू पूर्णतः फरक भाषामा बोल्न थाल्छन्। अब उनीहरू स्वीकार गर्छन्—’यदि कुनै देवतालाई हामीले रुष्ट बनाएका छौँ भने, त्यसको पर्याप्त दण्ड हामीले भोगिसकेका छौँ।’
थ्युसिडाइड्सले यसलाई धार्मिक शिक्षा दिन प्रयोग गरेका होइनन्। उनले देखाउन खोजेको मात्र यही हो भने अत्यधिक आत्मविश्वासले मानिसलाई आफ्ना सीमाहरू बिर्साउँछ, तर पराजयले उसलाई पुनः यथार्थमा फर्काउँछ।
शक्तिका पनि सीमा हुन्छन्
थ्युसिडाइड्सले कतै पनि शक्तिको आवश्यकता अस्वीकार गरेका छैनन्। उनी स्वयं सैनिक थिए। उनी राष्ट्रिय हितका लागि बल प्रयोग अपरिहार्य हुन सक्छ भन्ने बुझ्थे। तर उनले एउटा महत्वपूर्ण भिन्नता देखाएका छन्—
शक्ति र विवेक एउटै कुरा होइनन्। शक्तिशाली हुनु र शक्तिको दुरुपयोग गर्नु पनि एउटै कुरा होइन।
जब राज्यले आफ्ना सबै निर्णय तत्कालीन सैन्य लाभका आधारमा मात्र गर्न थाल्छ, उसले दीर्घकालीन राजनीतिक पुँजी गुमाउन थाल्छ। भयले अधीनता त ल्याउन सक्छ, तर त्यसले सम्मान, विश्वास र स्थायी वैधता कहिल्यै सिर्जना गर्न सक्दैन।
थ्युसिडाइड्सको अन्तिम चेतावनी
द पेलोपोनेसियन वार को सबैभन्दा गहिरो शिक्षा प्रसिद्ध भनाइ—’बलियाले जे सक्छन्, त्यो गर्छन्; कमजोरले जे भोग्नुपर्छ, त्यो भोग्छन्’—भन्ने निहितार्थमा मात्र सीमित छैन।
थ्युसिडाइड्सको वास्तविक सन्देश त त्यसपछि सुरु हुन्छ। उनी देखाउन खोज्छन्—जब शक्तिशाली राष्ट्रले आफूलाई नै नियमभन्दा माथि ठान्न थाल्छ, त्यही क्षणदेखि उसका पतनका बीउ रोपिन थाल्छन्। मेलोसमा एथेन्सले एउटा सानो टापु हरायो। तर सिसिलीमा उसले आफ्नै भविष्य गुमायो।
यही कारणले थ्युसिडाइड्स आज पनि केवल प्राचीन इतिहासकार वा सन्दर्भका व्यक्तित्व मात्र होइनन्। उनी शक्ति, साम्राज्य, लोकतन्त्र र अन्तर्राष्ट्रिय राजनीतिका सबै युगका लागि सान्दर्भिक चिन्तक बनेका छन्।
शक्तिका पनि माटाका खुट्टा हुन्छन्
द पेलोपोनेसियन वार पढ्दा एउटा कुरा स्पष्ट हुन्छ—थ्युसिडाइड्सले शक्ति–राजनीतिको अस्तित्वलाई अस्वीकार गरेका छैनन्। उनले बारम्बार देखाउँछन् कि अन्तर्राष्ट्रिय व्यवस्थामा शक्तिशाली राष्ट्रहरूले आफ्ना हितअनुसार निर्णय गर्छन् र कमजोर राष्ट्रहरूले त्यसको परिणाम भोग्नुपर्छ। यही यथार्थलाई उनले चित्रण गरेका हुन्।
तर यति भन्दैमा थ्युसिडाइड्सले निरंकुश शक्ति, अनियन्त्रित हिंसा वा साम्राज्यवादी दम्भलाई समर्थन गरेका थिए भन्ने निष्कर्ष निकाल्नु उनको सम्पूर्ण कृतिप्रतिको अन्याय हुनेछ। वास्तवमा उनले त ठीक उल्टो चेतावनी दिइरहेका छन्—’क्रूरता कहिल्यै दीर्घकालीन रणनीति हुँदैन।’
मेलियन संवादमा मेलियनहरूले एथेनियनहरूलाई एउटा अत्यन्त दूरदर्शी प्रश्न सोध्छन्। उनीहरू भन्छन्—
‘यदि तपाईं आज हामीमाथि यस्तो व्यवहार गर्नुहुन्छ भने, तपाईंलाई हेरेर बसेका अन्य तटस्थ राज्यहरूले के निष्कर्ष निकाल्नेछन्? उनीहरूले पनि एक दिन आफ्नो पालो आउनेछ भन्ने ठान्नेछन्। के यसरी तपाईं आफ्ना शत्रुहरू झन् धेरै बनाइरहनुभएको छैन?’
यो प्रश्न केवल नैतिकताको होइन। यो भूराजनीतिक रणनीतिको प्रश्न हो। थ्युसिडाइड्सको दृष्टिमा अत्यधिक हिंसा तत्काल विजयको साधन हुन सक्छ, तर दीर्घकालीन रूपमा त्यसले विश्वास, वैधता र सहयोग नष्ट गर्छ। डरका आधारमा टिकेको साम्राज्य बलियो देखिन सक्छ, तर त्यो स्थायी हुँदैन।
मित्रहरू कसरी शत्रु बन्छन्
थ्युसिडाइड्सले यो शिक्षा केवल मेलोसमा मात्र दिएका छैनन्। पुस्तकभरि उनले एउटै ढाँचा दोहोरिएको देखाउँछन्।
उनले सम्झाउन खोजेका छन्—स्पार्टाका सेनापति पाउसानियासको घमण्ड र निर्दय व्यवहारका कारण धेरै सहयोगी राज्यहरू स्पार्टाबाट विमुख भएका थिए। ती राज्यहरूले अन्ततः एथेन्ससँग हात मिलाए। केही दशकपछि इतिहास उल्टियो।
अब एथेन्स आफैं गठबन्धनको नेताबाट साम्राज्यवादी शासकमा रूपान्तरित भइसकेको थियो। उसको कठोर शासनबाट दिक्क भएका धेरै सहयोगीहरू क्रमशः स्पार्टातर्फ आकर्षित हुन थाले।
थ्युसिडाइड्स स्पष्ट शब्दमा लेख्छन्—
‘त्यसबेला अधिकांश मानिसहरूको सहानुभूति स्पार्टातर्फ थियो, किनकि एथेन्सविरुद्ध व्यापक असन्तोष फैलिएको थियो।’
यसबाट उनी एउटा सार्वकालिक सत्य स्थापित गर्छन्—महाशक्तिहरू प्रायः बाहिरी आक्रमणभन्दा पहिले आफ्नै व्यवहारका कारण एक्लिन्छन्।
शक्तिको सबैभन्दा ठूलो शत्रु: अहंकार
थ्युसिडाइड्सको सम्पूर्ण कृतिको केन्द्रमा एउटा ग्रीक अवधारणा छ—हब्रिस। यसको अर्थ केवल घमण्ड होइन। यो यस्तो अवस्था हो, जहाँ शक्ति, सफलता र आत्मविश्वासले कुनै व्यक्ति वा राष्ट्रलाई आफ्ना सीमाहरू बिर्साइदिन्छ।
हब्रिसले मानिसलाई यस्तो भ्रममा पुर्याउँछ कि—ऊ कहिल्यै पराजित हुँदैन, उसका निर्णयहरू सधैं सही हुन्छन्, र उसलाई कुनै नियम लागू हुँदैन।
थ्युसिडाइड्सका अनुसार यही मानसिकता अन्ततः महाशक्तिको पतनको सबैभन्दा ठूलो कारण बन्छ। मिलोसमा देखिएको यही दम्भ केही समयपछि सिसिलीमा एथेन्सकै विनाशको कारण बन्यो।
आधुनिक विश्वका लागि थ्युसिडाइड्सको सन्देश
द पेलोपोनेसियन वार आज पनि केवल प्राचीन ग्रीसको इतिहास मात्र होइन। यो समकालीन अन्तर्राष्ट्रिय राजनीतिलाई बुझ्ने एउटा शक्तिशाली दर्पण हो।
अमेरिका, चीन, रूस वा कुनै पनि महाशक्तिलाई हेर्दा थ्युसिडाइड्सको चेतावनी उत्तिकै सान्दर्भिक देखिन्छ। शक्ति आवश्यक छ। राष्ट्रिय हित पनि आवश्यक छ। तर यदि कुनै राष्ट्रले आफूलाई अन्तर्राष्ट्रिय नियम, नैतिक उत्तरदायित्व वा राजनीतिक संयमभन्दा माथि राख्न थाल्छ भने, त्यो क्षणदेखि उसका दीर्घकालीन कमजोरीहरू जन्मिन थाल्छन्।
थ्युसिडाइड्सको सबैभन्दा ठूलो शिक्षा यही हो—महाशक्तिहरूलाई बाह्य शत्रुभन्दा बढी खतरा आफ्नै अतृप्त महत्वाकांक्षा र आत्ममुग्धताबाट हुन्छ।
ट्रम्प र थ्युसिडाइड्स
आफ्नो दोस्रो कार्यकालको पहिलो वर्ष पूरा हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए—
‘मलाई लाग्छ, मैले गरेको कामप्रति भगवान् पनि गर्व गरिरहनुभएको छ।’
यस्तो अभिव्यक्तिले आत्मविश्वासभन्दा बढी असीम आत्मविश्वास झल्काउँछ।
थ्युसिडाइड्सले आफ्नो पुस्तकमा देवताको नाममा कुनै धार्मिक शिक्षा दिएका छैनन्। तर उनले एउटा कुरा निरन्तर देखाएका छन्—जब कुनै नेता वा राष्ट्रले आफूलाई आलोचनाभन्दा माथि, इतिहासभन्दा माथि वा नियतिभन्दा माथि ठान्न थाल्छ, त्यहीँबाट उसका गलत निर्णयहरूको शृंखला सुरु हुन्छ।
त्यसैले यदि थ्युसिडाइड्स आज जीवित हुन्थे भने, सम्भवतः उनी यस्तो दम्भलाई शक्तिको प्रदर्शनका रूपमा होइन, पतनको प्रारम्भिक संकेतका रूपमा हेर्थे।
थ्युसिडाइड्सलाई एउटा मात्र वाक्य—’बलियाले जे सक्छन्, त्यो गर्छन्; कमजोरले जे भोग्नुपर्छ, त्यो भोग्छन्’—मा सीमित गर्नु उनको सम्पूर्ण चिन्तनलाई अत्यधिक सरलीकरण गर्नु हो। उनको वास्तविक सन्देश त्यो वाक्यपछि मात्र सुरु हुन्छ भन्ने बुझ्न आवश्यक छ।
उनले देखाएका छन्—शक्ति अपरिहार्य छ, तर शक्ति मात्र पर्याप्त छैन। शक्ति यदि विवेक, संयम, वैधता र नैतिक उत्तरदायित्वबाट अलग हुन्छ भने, त्यही शक्ति अन्ततः आत्मविनाशको कारण बन्छ।
थ्युसिडाइड्सको सबैभन्दा स्थायी शिक्षा सम्भवतः यही हो—महाशक्तिको वास्तविक परीक्षा उसले आफ्ना शत्रुसँग कस्तो व्यवहार गर्छ भन्नेमा मात्र होइन, आफ्नै शक्तिलाई कति संयमका साथ प्रयोग गर्छ भन्नेमा निर्भर हुन्छ।







प्रतिक्रिया दिनुहोस्