कविराज वि.सी.
एउटा समाज कति असफल भयो भन्ने मापन सधैं आर्थिक सूचकांकले मात्र हुँदैन। कहिलेकाहीँ एउटा नागरिकले आफ्नै शरीरमा आगो लगाउन बाध्य हुनु नै त्यो समाज र राज्यको सबैभन्दा ठूलो असफलताको प्रमाण हुन्छ।
दुई वर्षअघि व्यवसायी प्रेमप्रसाद आचार्यले नयाँ बानेश्वरको सडकमा आत्मदाह गरे। त्यो केवल एक व्यक्तिको मृत्यु थिएन, त्यो राज्य, राजनीति र समाजप्रतिको मौन विद्रोह थियो। उनको शरीर आगोमा जल्दै गर्दा हजारौं मानिसको चेतनामा पनि प्रश्नहरू सल्किएका थिए। “किन एउटा नागरिक यो अवस्थामा पुग्यो?” भन्ने प्रश्नले देशलाई केही दिन हल्लाएको थियो।
त्यतिबेला धेरै नेताहरू रोए, धेरैले माफी मागे। कसैले त्यो घटनालाई व्यवस्था विरुद्धको विद्रोह भने, कसैले आफ्नो राजनीतिक असफलता स्वीकारे। नयाँ राजनीतिले पुरानो व्यवस्थालाई दोष दियो। परिवर्तनको वाचा गरियो। नागरिकको पीडा बुझ्ने प्रतिबद्धता व्यक्त गरियो।
तर समय बित्यो, आज फेरि अर्को युवक गणेश नेपालीले आफ्नै शरीरमा आगो लगाए। उपचारका क्रममा उनको मृत्यु भयो। एउटा गरिब परिवारको सपना पनि उनीसँगै खरानी बन्यो। फेरि त्यही प्रश्न उठ्यो—किन एउटा २५ वर्षको युवकलाई आफ्नै शरीर जलाउनु अन्तिम विकल्पजस्तो लाग्यो?
यसपटक भने दृश्य केही फरक छ। हिजो सडकबाट प्रश्न गर्नेहरू आज सत्तामा छन्। हिजो सरकारलाई कठघरामा उभ्याउनेहरू आज स्वयं सरकारको जिम्मेवारीमा छन्। तर आवाज उति चर्को सुनिँदैन। सामाजिक सञ्जालमा भावुक स्टाटस कम देखिन्छन्। आत्मालोचना झन् कम।
सत्ता परिवर्तनसँगै संवेदना पनि परिवर्तन हुन्छ भन्ने आरोप नेपाली राजनीतिले पटक–पटक खेप्दै आएको छ। प्रेम आचार्यको मृत्युमा आक्रोश देखाउनेहरूले गणेश नेपालीको मृत्युमा त्यही स्तरको आत्ममन्थन किन गरेनन् भन्ने प्रश्न अहिले धेरै नागरिकले उठाइरहेका छन्। यो प्रश्न कुनै एक दलमाथिको मात्र होइन, समग्र राजनीतिक संस्कृतिमाथिको प्रश्न हो।
वास्तवमा, आत्मदाह गर्ने व्यक्तिलाई दोष दिएर समस्या समाधान हुँदैन। आत्मदाह एउटा निर्णय मात्र होइन, त्यो लामो समयको पीडा, निराशा, अपमान र असहायताको अन्तिम विस्फोट हो। जब नागरिकलाई न्याय, सुनुवाइ र सम्मानको ढोका बन्द भएको अनुभूति हुन्छ, तब केही मानिसले आफ्नै जीवनलाई विरोधको माध्यम बनाउँछन्। यो अवस्था कुनै पनि सभ्य राज्यका लागि लज्जाको विषय हो।
गणेश नेपालीले किन यस्तो कदम चाल्नुपर्यो भन्ने विषयमा निष्पक्ष अनुसन्धान हुनुपर्छ। यदि सामान्य प्रशासनिक व्यवहार, जरिबाना वा सार्वजनिक सेवाप्रतिको असन्तुष्टिले उनलाई यो अवस्थामा पुर्यायो भने त्यो एउटा व्यक्तिको मात्र होइन, राज्य संयन्त्रको असफलताको संकेत हुनेछ।
राजनीतिक दलहरूले पनि आत्मसमीक्षा गर्नुपर्छ। विपक्षमा हुँदा नागरिकको आँसु देख्ने र सत्तामा पुगेपछि मौन बस्ने प्रवृत्तिले लोकतन्त्रलाई बलियो बनाउँदैन। सत्ता भनेको अधिकार मात्र होइन, नागरिकको पीडाप्रति उत्तरदायित्व पनि हो।
प्रेम आचार्य र गणेश नेपाली अब फर्केर आउने छैनन्। तर उनीहरूको मृत्युले छोडेका प्रश्नहरू अझै जीवित छन्। ती प्रश्नहरूको उत्तर भाषणले होइन, व्यवहारले दिनुपर्छ। कुनै पनि नागरिकले आफ्नो आवाज सुनाउन शरीरमा आगो लगाउनुपर्ने अवस्था फेरि कहिल्यै नआओस् भन्ने वातावरण निर्माण गर्नु नै राज्य, राजनीति र समाज सबैको साझा जिम्मेवारी हो।
यदि प्रेम आचार्यको आगोबाट राज्यले पाठ सिकेको हुन्थ्यो भने सायद आज गणेश नेपाली जीवित हुने थिए। त्यसैले अब पनि यो घटनालाई केही दिनको समाचार बनाएर बिर्सिने हो भने इतिहासले फेरि अर्को नाम थप्नेछ। प्रश्न एउटै रहनेछ—आखिर नागरिकले आफ्नै शरीर जलाएर मात्र राज्यको ध्यान किन खिच्नुपर्छ?






प्रतिक्रिया दिनुहोस्