काठमाडौं, २९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिडिया हाउसहरूको गेटमा गाडी पार्किङ गरी अवरोध गर्ने कार्यमा संलग्नलाई तत्काल पहिचान गरी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
महामन्त्री विपिन कुमार आचार्यले एक विज्ञप्ति जारी गर्दै स्वतन्त्र र भयरहित पत्रकारिता नै लोकतन्त्रको प्राण वायु रहेको बताएको छ ।
‘यसको रक्षार्थ राष्ट्रिय स्वतन्त्र पार्टी सदैव कटिबद्ध छ । तसर्थ, प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित यस्ता र अन्य जुन कुनै कदमहरूको राष्ट्रिय स्वतन्त्र पार्टी भर्त्सना गर्दछ,’ रास्वपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
राज्यको चौथो अंगका रूपमा स्थापित आमसञ्चारमाध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताका ठाडो उल्लंघन रहेको रास्वपाको ठहर छ ।
‘यी घटनाहरूको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी सम्पूर्ण सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न र यस्ता शंकास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि उनीहरूको तत्काल पहिचान गरी कानुन बमोजिम गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौं,’ रास्वपाले भनेको छ ।
एक लोकतान्त्रिक, जिम्मेवार र विधिको शासनमा विश्वास गर्ने राजनीतिक दलको हैसियतले रास्वपा सदैव पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा दृढतापूर्वक उभिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू राष्ट्रिय स्वतन्त्र पार्टीलाई किमार्थ स्वीकार्य छैनन् भन्ने स्पष्ट पार्न चाहन्छौं,’ महामन्त्री आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अन्तमा, सम्पूर्ण सञ्चार जगत्लाई कुनै पनि दबाब र त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारिताको आफ्नो व्यावसायिक धर्म निर्वाह गरिरहन अपिल पनि रास्वपाले गरेको छ ।
‘सञ्चारकर्मी एवं सञ्चार गृहहरूको सुरक्षा तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रास्वपा सदैव खडा रहने दृढ प्रतिबद्धता व्यक्त गर्दछौं,’ रास्वपाले भनेको छ ।








प्रतिक्रिया दिनुहोस्