काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) सहित १० जना आरोहीको शव उद्धार अभियान सुरु भएको छ।
पुर्जाका व्यावसायिक साझेदार तथा प्रतिनिधिसभा सदस्य मिङ्गमा डेभिड शेर्पाका अनुसार आइतबार उद्धार टोलीले शवहरू हालको स्थानबाट क्याम्प–१ सम्म ल्याउने योजना बनाएको छ।
उनका अनुसार त्यसपछि सोमबार शवहरू जापानी क्याम्प पुर्याइनेछ। मौसम अनुकूल रहेमा त्यहाँबाट हेलिकोप्टरमार्फत थप उद्धार गरिने तयारी गरिएको छ।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै शेर्पाले अभियानको मुख्य उद्देश्य आरोहीहरूको शव सुरक्षित रूपमा उद्धार गरी सम्मानपूर्वक परिवारसम्म पुर्याउनु रहेको बताएका छन्।
उनले उद्धार अभियानमा संलग्न सम्पूर्ण टोलीको सुरक्षा नै पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै हरेक निर्णय मौसम, हिमालको अवस्था र उद्धारकर्मीको सुरक्षालाई ध्यानमा राखेर भइरहेको जानकारी दिएका छन्।
गत बिहीबार पाकिस्तानको ब्रोड पिकमा आएको हिमपहिरोमा परी निर्मल पुर्जासहित १० जना आरोहीको मृत्यु भएको थियो। त्यसयता प्रतिकूल मौसमका कारण उद्धार कार्य प्रभावित हुँदै आएको थियो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्