काठमाडौं । पाकिस्तानको ब्रड पिक (८,०५१ मिटर) हिमालमा गएको हिमपहिरोमा ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) सहित १० जना आरोहीको शव सुरक्षित रूपमा तल ल्याउने उद्धार अभियान तीव्र पारिएको छ।
घटनास्थलमा खटिएको उद्धार टोलीले हाल शवलाई क्याम्प–१ सम्म ल्याउने कार्य गरिरहेको छ। त्यसपछि सोमबार जापानी क्याम्प पुर्याइने योजना रहेको उद्धार समन्वयमा रहेका सांसद तथा अनुभवी पर्वतारोही मिङ्मा डेभिड शेर्पाले जानकारी दिएका छन्।
उनका अनुसार मौसम र हिमालको अवस्था अनुकूल रहेमा जापानी क्याम्पबाट हेलिकोप्टरमार्फत शवलाई तल ल्याइने सम्भावना छ। शेर्पा स्वयं पाकिस्तानमै रहेर उद्धार अभियानको समन्वय गरिरहेका छन्।
गत साउन १४ गते (जुलाई ३०) क्याम्प–२ बाट क्याम्प–३ तर्फ उक्लिने क्रममा करिब ६ हजार ६ सय मिटर उचाइमा ठूलो हिमपहिरो गएको थियो। हिमपहिरोमा नेपाल, पाकिस्तान, अमेरिका, चीन र ओमानका गरी १० जना आरोही परेका थिए।
दुर्घटनामा नेपालका निर्मल पुर्जा (निम्सदाइ), पुरबहादुर गुरुङ (युक्त), निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नावाङ थिन्दु शेर्पाको निधन भएको पुष्टि भइसकेको छ।
उद्धार टोलीले सबै शव सुरक्षित रूपमा परिवारसम्म पुर्याउने लक्ष्यका साथ जोखिमपूर्ण हिमाली क्षेत्रमा अभियान जारी राखेको जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्