काठमाडौं । इरान र इजरायलबीच जारी द्वन्द्वका कारण अमेरिकी सैन्य मिसाइल भण्डार तीव्र रूपमा घट्दै गएको भन्दै युरोपमा तैनाथ एक उच्च अमेरिकी सैन्य कमान्डरले पेन्टागनलाई गम्भीर चेतावनी दिएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी सेनाको युरोपेली कमान्डका प्रमुख जनरल एलेक्सस ग्रिनकेविचले पेन्टागनका अधिकारीहरूलाई इरानका ब्यालिस्टिक मिसाइल आक्रमणबाट इजरायलको रक्षा गर्न आवश्यक मिसाइल प्रतिरक्षा प्रणालीमा दबाब बढ्दै गएको बताएका छन्।
उनले पश्चिम एसियामा थप अमेरिकी जलसैनिक विध्वंसक (डिस्ट्रोयर) नपठाइए अमेरिकाले आफ्नै रणनीतिक हितको रक्षा गर्ने वा इजरायललाई मिसाइल प्रतिरक्षामा सहयोग गर्नेमध्ये एउटा विकल्प रोज्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।
पेन्टागनले भने यस विषयमा सार्वजनिक टिप्पणी गर्न अस्वीकार गरेको छ।
यसअघि पनि अमेरिकी सञ्चारमाध्यमहरूले राष्ट्रपति डोनल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाही रोक्नुको एउटा कारण अमेरिकी मिसाइल प्रतिरक्षा प्रणालीको भण्डार तीव्र रूपमा घट्दै जानु रहेको उल्लेख गरेका थिए।
युद्ध विभागको आन्तरिक मूल्यांकनलाई उद्धृत गर्दै सीएनएनले हालको द्वन्द्वमा अमेरिकाले ठूलो मात्रामा प्रिसिजन–गाइडेड मिसाइल प्रयोग गरेको र त्यसको असर भविष्यका सम्भावित युद्धमा पर्न सक्ने जनाएको छ।
विश्लेषणअनुसार अमेरिकाले हालसम्म आफ्नो केही प्रमुख हतियार भण्डारको ठूलो हिस्सा प्रयोग गरिसकेको अनुमान गरिएको छ। यसमा प्रिसिजन स्ट्राइक मिसाइल, थाड (THAAD), पेट्रियट, टोमाहक क्रुज मिसाइल, जोइन्ट एयर–टु–सर्फेस स्ट्यान्डअफ मिसाइल तथा एसएम–३ र एसएम–६ इन्टरसेप्टर मिसाइलहरू उल्लेखनीय छन्।
रक्षा विश्लेषकहरूले यी उन्नत मिसाइल प्रणालीहरूको भण्डार पुनः भरपर्दो स्तरमा पुर्याउन धेरै वर्ष लाग्न सक्ने चेतावनी दिएका छन्।
प्रतिवेदनअनुसार इरानी ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न अमेरिकाले इजरायलको प्रत्यक्ष प्रयोगभन्दा पनि धेरै संख्यामा आफ्ना उन्नत इन्टरसेप्टर मिसाइल प्रयोग गरेको छ।
विश्लेषकहरूका अनुसार यसले अमेरिकासामु क्षेत्रीय साझेदारको सुरक्षा सुनिश्चित गर्दै भविष्यका सम्भावित सैन्य संकटका लागि पर्याप्त हतियार भण्डार जोगाइराख्ने चुनौती झन् जटिल बनेको संकेत गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्