काठमाडौं । ५० हजार रुपैयाँ दिने प्रलोभनमा पारेर १७ वर्षीया किशोरीको गैरकानुनी रूपमा डिम्ब (अण्डाणु) निकालिएको घटना सार्वजनिक भएको छ। घटनापछि किशोरीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ भने यसमा संगठित सञ्जाल संलग्न रहेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
पीडित किशोरीका अनुसार कक्षा ११ मा अध्ययनरत उनलाई साथीले पटक–पटक डिम्ब निकाल्दा कुनै असर नपर्ने र राम्रो रकम पाइने भन्दै प्रलोभनमा पारेकी थिइन्। त्यसपछि उनलाई बिचौलियामार्फत ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पतालको आईभीएफ सेन्टर पुर्याइएको थियो।
अनुसन्धानका अनुसार किशोरीको वास्तविक उमेर र परिचय लुकाएर नक्कली विवरण तयार गरिएको थियो। करिब १० दिनसम्म हर्मोनका इन्जेक्सन लगाएपछि असार १४ गते डिम्ब निकालिएको थियो। ५० हजार रुपैयाँ दिने भनिए पनि उनलाई ३० हजार रुपैयाँ मात्रै दिइएको पीडितको भनाइ छ।
डिम्ब निकालिएपछि किशोरीको पेट अत्यधिक फुल्ने, लगातार बान्ता हुने, चक्कर आउने र हिँडडुल गर्नसमेत कठिन हुने समस्या देखिएपछि परिवारले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार गराएको थियो। चिकित्सकीय परीक्षणमा संक्रमण फैलिएको र डिम्बाशयमा तरल पदार्थ जमेको देखिएको परिवारले जनाएको छ। हाल किशोरी मानसिक तनावका कारण उपचाररत रहेको बताइएको छ।
पीडित परिवारले घटनामा संलग्न चिकित्सक, बिचौलिया र अन्य व्यक्तिमाथि कानुनी कारबाहीको माग गरेको छ। किशोरीकी आमाले छोरीको भविष्य नै जोखिममा परेको भन्दै दोषीलाई कडा सजाय हुनुपर्ने बताएकी छन्।
घटनाको अनुसन्धान गरिरहेका अधिवक्ता ध्रुव भण्डारीले नेपालमा डिम्ब तस्करी वा गैरकानुनी डिम्ब निष्कासनसम्बन्धी छुट्टै कानुन नभए पनि बालबालिकामाथिको शोषण, मानव बेचबिखन, संगठित अपराध तथा अदालतको आदेश उल्लंघनलगायत विद्यमान कानुनअन्तर्गत अनुसन्धान र अभियोजन गर्न सकिने बताए।
प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेकी बिचौलियाको मोबाइलमा चिकित्सकबाट पटक–पटक मोबाइल बैंकिङमार्फत रकम पठाइएको विवरण फेला परेको जनाएको छ। मुख्य आरोपित चिकित्सक भने फरार रहेको प्रहरीले जनाएको छ।
यस प्रकरणमा २१ वर्षीया राधिका गोतामेलाई पक्राउ गरिएको भए पनि सरकारी वकिलको कार्यालयको निर्देशनपछि उनी हाजिरी जमानतमा छुटेकी छन्। त्यसपछि पीडित परिवारले आफूहरू असुरक्षित महसुस गरिरहेको जनाएको छ।
यसअघि पनि नेपालका केही आईभीएफ केन्द्रमा नाबालिगको नक्कली विवरण प्रयोग गरी डिम्ब निकालिएको आरोप सार्वजनिक भएपछि सर्वोच्च अदालतले महिला तथा बालबालिकाबाट डिम्ब निष्कासन तथा भण्डारणमा अन्तरिम रोक लगाएको थियो। पछिल्लो घटनाले उक्त आदेशको प्रभावकारी कार्यान्वयनमाथि प्रश्न उठाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्