काठमाडौं । आधुनिक युद्धमा समूहमा परिचालन हुने ‘स्वार्म ड्रोन’ प्रभावकारी सैन्य प्रविधिका रूपमा स्थापित भइरहेका बेला भारतले ५० वटा ड्रोनको स्वदेशी स्वार्म प्रणाली विकास प्रक्रिया अघि बढाएको छ। रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले ७० प्रतिशतभन्दा बढी स्वदेशी सामग्री प्रयोग गरी यस्तो प्रणाली विकास गर्न निजी उद्योगसँग प्रस्ताव माग गरेको हो।
डीआरडीओका अनुसार प्रणालीमा ४९ वटा ड्रोन सात गुणा सात ग्रिडमा सञ्चालन हुनेछन् भने एउटा ‘मास्टर ड्रोन’ले सम्पूर्ण समूहलाई नियन्त्रण गर्नेछ। मास्टर ड्रोनले ग्राउन्ड कन्ट्रोल स्टेसनबाट निर्देशन लिएर अन्य ड्रोनबीच समन्वय कायम गर्नेछ।
नयाँ प्रणालीका ड्रोनले ५ सेन्टिमिटरसम्मको त्रुटि सीमाभित्र उडान गर्न सक्ने, प्रतिघण्टा ७२ किलोमिटरसम्मको हावामा सञ्चालन हुने, पाँच हजार मिटर उचाइसम्म पुग्ने तथा १५ देखि २५ किलोमिटरसम्मको दूरीमा मिसन पूरा गरी सुरक्षित फर्किन सक्ने क्षमता राख्ने लक्ष्य छ।
प्रत्येक ड्रोनले ५०० ग्रामदेखि २ किलोग्रामसम्म पेलोड बोक्न सक्ने, न्यूनतम ३० मिनेट उड्न सक्ने र १५ मिनेटमै पुनः चार्ज हुने व्यवस्था रहनेछ। साथै, युद्धका बेला शत्रुको इलेक्ट्रोनिक जामिङबाट बच्न ज्यामर–प्रतिरोधी सञ्चार प्रणाली जडान गरिनेछ।
सैन्य विश्लेषकहरूका अनुसार स्वार्म ड्रोनले निगरानी, जासुसी, लक्ष्य पहिचान, इलेक्ट्रोनिक वारफेयर र सटीक आक्रमणलाई अझ प्रभावकारी बनाउनेछ। ठूलो संख्यामा एकैसाथ परिचालन गर्न सकिने भएकाले यसले शत्रुको वायु रक्षा प्रणालीमाथि दबाब सिर्जना गर्ने क्षमता पनि राख्छ।
डीआरडीओले परियोजनामा कम्तीमा ७० प्रतिशत स्वदेशी सामग्री अनिवार्य गरेको छ। चिनियाँलगायत प्रतिस्पर्धी देशका कम्पोनेन्ट प्रयोगमा प्रतिबन्ध लगाइएको छ, जसको उद्देश्य डाटा सुरक्षा र साइबर जासुसीको जोखिम न्यूनीकरण गर्नु हो।
परियोजनामा भारतीय एमएसएमई, स्टार्टअप र निजी कम्पनीलाई प्राथमिकता दिइनेछ। डीआरडीओले डिजाइन, प्रोटोटाइप विकास, परीक्षण र प्रमाणीकरणसहित सम्पूर्ण परियोजना २४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्