बागलुङ/गलकोट नगरपालिकामा सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्तिको चरित्रहत्या गर्ने र समाजमा भ्रम फैलाउने गतिविधि बढेको भन्दै ती कार्यहरू रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङमा ज्ञापनपत्र बुझाइएको छ । गलकोट क्षेत्रका विभिन्न राजनीतिक दल तथा संघ–संस्थाहरूको संयुक्त सहभागितामा प्रमुख जिल्ला अधिकारीसमक्ष उक्त ज्ञापनपत्र पेस गरिएको हो ।
पछिल्लो समय Hamro Galkot लगायत विभिन्न अपरिचित सामाजिक सञ्जालका आइडी तथा पेजमार्फत गलकोट नगरपालिकाभित्रका सरकारी तथा गैरसरकारी संस्था, उद्योगी–व्यापारी, सामाजिक अभियन्ता, जनप्रतिनिधि र विभिन्न व्यक्तित्वहरूलाई लक्षित गरी आधारहीन आरोप लगाउने गरिएको छ । साथै, अस्पष्ट र भ्रामक सामग्री प्रकाशन गर्नुका साथै (AI) को प्रयोग गरी बनाइएका भ्रमपूर्ण तस्बिर तथा भिडियोहरू सार्वजनिक गर्ने कार्य निरन्तर भइरहेकोप्रति ज्ञापनपत्रमा गम्भीर आपत्ति जनाइएको छ ।
यस्ता गतिविधिले व्यक्तिको प्रतिष्ठामा गम्भीर आघात पु¥याउनुका साथै समाजमा भ्रम, अविश्वास, द्वन्द्व र सामाजिक सद्भावमा समेत नकारात्मक प्रभाव पारेको छ । नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रताको अधिकार सुनिश्चित गरे पनि यसको प्रयोग गर्दा कानुन, सामाजिक मर्यादा र अरूको प्रतिष्ठाको सम्मान गर्नुपर्ने दायित्व रहेको स्मरण गराइएको छ । साइबर माध्यमबाट हुने यस्ता गतिविधिहरू विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ र मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत अनुसन्धान गरी कानूनी कारबाही अगाडि बढाउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराइएको छ ।
ज्ञापनपत्र राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय जनमोर्चाका गलकोट नगर समिति तथा गलकोट उद्योग वाणिज्य संघतर्फबाट संयुक्त रूपमा बुझाइएको हो ।
ज्ञापनपत्र ग्रहण गर्दै बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा भ्रम सिर्जना गर्ने, द्वन्द्व बढाउने र व्यक्तिको चरित्रहत्या गर्ने जस्ता गतिविधि सैह्य नहुने बताएका छन् । उनले ज्ञापनपत्रमा उठाइएका विषयहरू गम्भीरतापूर्वक लिइएको बताउँदै यस्ता भ्रामक कार्यमा संलग्न व्यक्तिहरूको खोजी गरी प्रचलित कानून बमोजिम कडा कारबाही गर्न सुरक्षा निकायलाई तत्काल निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैबीच, सोही टोलीले जिल्ला प्रहरी कार्यालय बागलुङमा समेत औपचारिक रूपमा उजुरी दर्ता गराएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख, प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईले उजुरी दर्ता भएको पुष्टि गर्दै घटनाको तत्काल अनुसन्धान सुरु गरी दोषीलाई कानूनी दायरामा ल्याउने बताएका छन् । उनले यस प्रकारका साइबर अपराध नियन्त्रणका लागि नेपाल प्रहरीको साइबर ब्युरोसँग आवश्यक समन्वय गरी कारबाही प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्