काठमाडौं । नेपाल प्रहरीले गत वैशाख १ गतेदेखि असार मसान्तसम्म सञ्चालन गरेको विशेष अभियानका क्रममा अवैध हातहतियारसम्बन्धी मुद्दामा संलग्न ८४ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेमा काठमाडौं उपत्यकाबाट आठ, कोशी प्रदेशबाट १४, मधेस प्रदेशबाट ११, बागमती प्रदेशबाट पाँच, गण्डकी प्रदेशबाट १८, लुम्बिनी प्रदेशबाट १३, कर्णाली प्रदेशबाट १० र सुदूरपश्चिम प्रदेशबाट पाँच जना रहेका छन्।
अभियानका क्रममा दुई थान चाइनिज पेस्तोल, दुई थान पेस्तोल, एक थान रिभल्भर, नौ थान कटुवा पेस्तोल, ४१ थान भरुवा बन्दुक, नौ थान बन्दुक र तीन थान एयरगन गरी कुल ६७ थान हतियार बरामद गरिएको प्रहरीले जनाएको छ।
यस्तै, चार राउन्ड चाइनिज पेस्तोलका गोली, २६३ राउन्ड एसएलआरका गोली, १४ राउन्ड कटुवा पेस्तोलका गोली तथा विभिन्न प्रकारका बन्दुकमा प्रयोग हुने ७० राउन्ड गोलीसमेत बरामद गरिएको छ।
नेपाल प्रहरीले अवैध रूपमा हातहतियार लुकाएर राखिएको जानकारी भएमा तत्काल सूचना दिन तथा त्यस्ता हातहतियार स्वेच्छाले प्रहरीसमक्ष बुझाउन सर्वसाधारणसँग आग्रह गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्