काठमाडौं । मनसुन सुरु भएसँगै काठमाडौंको जमल क्षेत्र फेरि जलमग्न हुन थालेको छ। केही घण्टाको वर्षामै सडक नदीजस्तै बन्ने, सवारी आवागमन अवरुद्ध हुने र पैदलयात्रीले सास्ती खेप्नुपर्ने समस्या वर्षौंदेखि दोहोरिँदै आएको छ। दैनिक जमल हुँदै आवतजावत गर्ने सर्वसाधारणका लागि वर्षायाम तनावको अर्को नाम बनेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)को संयोजकत्वमा काठमाडौं महानगरपालिका, सडक डिभिजन कार्यालय र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्राविधिकले गरेको अध्ययनले जमल डुबानको मुख्य कारण ढल निकास प्रणालीको अपर्याप्त क्षमता र असन्तुलित जलप्रवाह रहेको निष्कर्ष निकालेको छ।
चारैतिरबाट पानी, निकास भने साँघुरो
अध्ययनअनुसार जमल क्षेत्रमा ज्याठा, निर्वाचन आयोग, येल्लो प्यागोडा होटल, जनप्रशासन परिसरलगायत विभिन्न दिशाबाट ठूलो मात्रामा वर्षाको पानी जम्मा हुन्छ। ती सबैबाट आउने पानीको निकासका लागि भने पर्याप्त क्षमताको ढल संरचना छैन।
प्रतिवेदनले करिब ०.८२६ वर्गमिटर बराबरको पानीको प्रवाह हुने क्षेत्रमा ०.२८३ वर्गमिटर क्षमता भएको निकास प्रणाली मात्र रहेको देखाएको छ। यही असन्तुलनका कारण सामान्य वर्षामै पनि सडक जलमग्न हुने गरेको निष्कर्ष निकालिएको छ।
टुकुचा खोलाको प्रभाव पनि प्रमुख कारण
प्राविधिक समितिका प्रतिवेदक तथा एनडीआरआरएमएका उपसचिव रामबहादुर केसीका अनुसार जमलको ढल प्रणाली टुकुचा खोलामा मिसिने भए पनि खोलाको सतह र ढल निकासको अन्तिम बिन्दुबीचको उचाइ अन्तर अत्यन्त कम भएकाले भारी वर्षाका बेला खोलाको पानीले ढल निकास अवरुद्ध गर्ने गर्छ।
यसका साथै ढलका पाइप, म्यानहोल र क्याचपिटमा जमेको फोहोर, बालुवा र गेग्रानका कारण पानीको बहाव थप अवरुद्ध हुने गरेको अध्ययनले देखाएको छ।
तत्काल गर्नुपर्ने चार काम
प्राविधिक समितिले तत्काल कार्यान्वयन गर्नुपर्ने मुख्य सुझावहरू दिएको छ।
- ढल, म्यानहोल र क्याचपिटको नियमित सरसफाइ।
- वर्षा पूर्वानुमानका आधारमा समयमै सवारी व्यवस्थापन।
- जमलदेखि केशरमहलसम्म थप क्याचपिट निर्माण।
- टुकुचा खोलाको सतह सफा गरी पानीको बहाव सहज बनाउने।
दीर्घकालीन समाधान : ठूलो ढल र छुट्टै वर्षा निकास प्रणाली
प्रतिवेदनले अहिलेको मुख्य निकास पाइप हटाएर ठूलो क्षमताको ट्रंक लाइन निर्माण गर्नुपर्ने सुझाव दिएको छ। साथै, वर्षाको पानीलाई एउटै ढलमा केन्द्रित नगरी वैकल्पिक मार्गबाट निकास दिने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।
होटल, विद्यालय, सपिङ मल तथा निजी भवनमा वर्षाको पानी सङ्कलन (रेन वाटर हार्भेस्टिङ) र भूजल पुनर्भरण प्रणाली लागू गर्न पनि सुझाव दिइएको छ। दीर्घकालीन रूपमा वर्षाको पानी र ढलका लागि छुट्टाछुट्टै निकास प्रणाली निर्माण गर्नुपर्ने प्रतिवेदनको निष्कर्ष छ।
माइतीघरपछि जमल, अब अन्य क्षेत्रको पनि अध्ययन
प्राधिकरणले माइतीघरपछि जमल क्षेत्रको अध्ययन सम्पन्न गरिसकेको र अब उपत्यकाका अन्य डुबानग्रस्त क्षेत्रको पनि क्रमशः अध्ययन गरिने जनाएको छ।
प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा ढल निकास सुधार, अवरोध हटाउने तथा पूर्वाधार विकासका काम अघि बढाइने बताए। उनका अनुसार मनसुनमा बारम्बार डुबान हुने क्षेत्रको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरेर कार्यान्वयन अघि बढाइनेछ।
अव्यवस्थित सहरीकरणले बढायो जोखिम
भूगर्भविद् डा. सुवोध ढकालका अनुसार उपत्यकामा खुला जमिन मासिँदै जानु, कङ्क्रिट संरचना बढ्नु, भूजल पुनर्भरण घट्नु र पुरानो ढल प्रणालीकै कारण सहरी डुबान जटिल बन्दै गएको छ।
उनले नयाँ भवन निर्माण गर्दा केही खुला जमिन अनिवार्य राख्ने, वर्षाको पानी सङ्कलन प्रणाली लागू गर्ने र पानीलाई सिधै ढलमा पठाउनुको सट्टा जमिनभित्र पुनर्भरण गराउने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्।
विशेषज्ञहरूका अनुसार ढल विस्तार मात्र दीर्घकालीन समाधान होइन। घरघरमै वर्षाको पानी व्यवस्थापन, भूजल पुनर्भरण र आधुनिक वर्षा निकास प्रणाली विकास गर्न सके मात्रै जमल, माइतीघरलगायत उपत्यकाका डुबान समस्या दिगो रूपमा समाधान गर्न सकिनेछ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्