काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल ‘निम्स’ पुर्जासहित चार जनाको शव सफलतापूर्वक उद्धार गरी आधारशिविरमा ल्याइएको छ।
दिवंगत पर्वतारोही निर्मल पुर्जाका व्यापारिक साझेदार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मिङ्मा डेभिड शेर्पाले सामाजिक सञ्जालमार्फत उद्धार अभियान सम्पन्न भएको जानकारी दिएका हुन्।
मिङ्माले लेखेका छन्, “अत्यन्तै दुःखी हृदयका साथ पुष्टि गर्दछौँ कि अत्यन्तै चुनौतीपूर्ण उद्धार अभियानपछि हाम्रा संस्थापक निर्मल ‘निम्स’ पुर्जा, झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव ब्रोड पिकबाट सफलतापूर्वक उद्धार गरी सुरक्षित रूपमा आधारशिविरमा ल्याइएको छ।”
उनले उद्धार अभियानमा सहभागी पाकिस्तानी पर्वतारोही सिरबाज खानसहित सम्पूर्ण उद्धार टोलीको साहस, व्यावसायिकता र समर्पणप्रति आभार व्यक्त गरेका छन्।
मिङ्माका अनुसार अत्यन्तै कठिन र जोखिमपूर्ण परिस्थितिमा पनि उद्धार टोलीले अभियान सफलतापूर्वक सम्पन्न गरेको हो।
उद्धार अभियानलाई सफल बनाउन सहयोग पुर्याउने पाकिस्तान सेना, पाकिस्तान सरकार, गिल्गित–बाल्टिस्तान सरकार, स्थानीय प्रशासन, बेलायती उच्चायोग, नेपाली दूतावास, अल्पाइन क्लब अफ पाकिस्तान तथा अन्य सहयोगी संस्थाप्रति पनि उनले धन्यवाद व्यक्त गरेका छन्।
यसैबीच, उनले अझै तीन जना आरोही बेपत्ता रहेको जानकारी दिँदै मौसम र सुरक्षा अवस्था अनुकूल हुनेबित्तिकै उनीहरूको खोजी अभियान पुनः अघि बढाइने बताएका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्