काठमाडौं। भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एकपटकमा तीन करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य भएको स्मरण गराएको छ।
विभागले सूचना जारी गर्दै यस्तो कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई २१ दिनभित्र विभागको अनलाइन प्रणालीमार्फत आवेदन दिन आग्रह गरेको हो।
सूचनाअनुसार, कारोबारको रकमका आधारमा इजाजतपत्र दस्तुर पनि निर्धारण गरिएको छ। पाँच करोड रुपैयाँसम्मको कारोबारका लागि पाँच लाख रुपैयाँ र पाँच करोड रुपैयाँभन्दा बढीको कारोबारका लागि १० लाख रुपैयाँ दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ।
यसअघि अनलाइन आवेदन दिए पनि २०८३ असार मसान्तसम्म इजाजतपत्र प्राप्त नगरेका फर्म, कम्पनी तथा संस्थाले समेत नयाँ सूचनाअनुसार पुनः अनलाइन आवेदन दिनुपर्नेछ।
अनलाइन आवेदनसँगै आवश्यक कागजातको एक–एक प्रति प्रिन्ट गरी विभागमा बुझाउनुपर्नेछ। साथै आवेदन दर्तापछि सम्बन्धित कम्पनी वा संस्थाका सञ्चालक सदस्यले नेपाल प्रहरीको केन्द्रीय अपराध सूचना अभिलेखालयको अभिलेखका आधारमा आपराधिक गतिविधिमा संलग्न नरहेको व्यहोराको प्रमाणपत्र पनि पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
इजाजतपत्रसम्बन्धी थप जानकारी आवश्यक परे भूमि व्यवस्थापन तथा अभिलेख विभागमा सम्पर्क गर्न विभागले अनुरोध गरेको छ।
Originally published on abcnews.com.np.
















प्रतिक्रिया दिनुहोस्