इनरुवा । देवानगञ्ज गोलीकाण्डको निष्पक्ष छानबिन र पीडितलाई न्यायको माग गर्दै नेपाली कांग्रेस सुनसरीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई पाँच बुँदे ज्ञापनपत्र बुझाएको छ।
ज्ञापनपत्रमा गोलीकाण्डको निष्पक्ष छानबिन, घाइतेको निःशुल्क उपचार, पीडित तथा प्रभावितलाई क्षतिपूर्ति, गृहमन्त्रीले पीडित परिवारसँग गरेको सहमति कार्यान्वयन तथा जिल्लामा शान्ति–सुरक्षा कायम गर्नुपर्ने माग गरिएको छ।
कांग्रेस सुनसरीले यी माग तीन दिनभित्र पूरा गर्न सरकारलाई अल्टिमेटम दिँदै माग सम्बोधन नभए चरणबद्ध शान्तिपूर्ण आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।
ज्ञापनपत्रमा साउन १० गते देवानगञ्ज–३ कप्तानगञ्जमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको र त्यसपछि भएको आन्दोलनका क्रममा सिराहाको गोलबजारमा थप एक जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै दोषीमाथि निष्पक्ष छानबिन र पीडितलाई न्याय दिलाउन माग गरिएको छ।
जिल्ला सभापति केदार भण्डारीले गृहमन्त्री र पीडित परिवारबीच भएको सहमति तत्काल कार्यान्वयन, न्यायिक आयोग गठन, घाइतेको प्रभावकारी उपचार, क्षतिपूर्ति तथा जिल्लामा शान्ति–सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्। माग पूरा नभए तीन दिनपछि आन्दोलन सुरु गरिने उनले बताएका छन्।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्