कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित देउराली चोक नजिक रहेको दुदुरा खोलामा डुबेर ११ वर्षीय एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा वाणगङ्गा नगरपालिका–९ निवासी ११ वर्षीय सुजित राना रहेका छन्। उनी साथीहरूसँग बल्छी लिएर माछा मार्न गएका बेला खोलामा डुबेको प्रारम्भिक जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। खोलामा डुबेको अवस्थामा फेला परेका बालकलाई उद्धार गरिए पनि उनको ज्यान बचाउन सकिएन।
प्रहरीका अनुसार घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको छ। प्रारम्भिक अनुसन्धानले बल्छी खेल्दै माछा मार्ने क्रममा उनी खोलामा डुबेको देखिएको भए पनि घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भट्टले जानकारी दिए।
यस घटनापछि स्थानीयवासी शोकमा डुबेका छन्। वर्षायाममा नदी तथा खोलाको बहाव बढ्ने भएकाले बालबालिकालाई खोलानाला आसपास एक्लै जान नदिन तथा अभिभावकलाई विशेष सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्