काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनको प्रोस्टेट क्यान्सर हड्डीभन्दा पनि अगाडि फैलिएको र उनको अवस्था अत्यन्त पीडादायी रहेको उनका छोरा हन्टर बाइडेनले बताएका छन्। बीबीसीको ‘न्युज नाइट’लाई दिएको अन्तर्वार्तामा हन्टरले क्यान्सर फैलिँदै गएको र यसले बाइडेनलाई शारीरिक रूपमा निकै कमजोर बनाइरहेको बताएका हुन्।
हन्टरका अनुसार ८३ वर्षीय बाइडेनको क्यान्सर हड्डीमा मात्र सीमित नरही त्यसभन्दा अगाडिसम्म फैलिएको छ। उनले यो अवस्था अत्यन्त पीडादायी र धेरै हिसाबले कमजोर बनाउने खालको रहेको बताएका छन्। बाइडेनका प्रवक्ताले भने हन्टरको पछिल्लो अन्तर्वार्ताबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।
बाइडेनले ह्वाइट हाउस छाडेको चार महिनाभन्दा कम समयपछि सन् २०२५ मेमा आफूलाई आक्रामक प्रकारको प्रोस्टेट क्यान्सर भएको सार्वजनिक गरेका थिए। त्यतिबेला उनले क्यान्सर हड्डीसम्म फैलिएको बताएका थिए। पछि उनका प्रवक्ताले बाइडेनले रेडिएसन उपचार र हर्मोन थेरापी गराइरहेको जानकारी दिएका थिए।
सन् २०२० मा बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुने सबैभन्दा वृद्ध व्यक्ति बनेका थिए। सन् २०२१ देखि २०२५ सम्म राष्ट्रपति रहँदा उनको शारीरिक स्वास्थ्य र मानसिक क्षमतामाथि निरन्तर बहस हुँदै आएको थियो। यसै वर्ष जुनमा उनी पूर्वराष्ट्रपति बाराक ओबामाको प्रेसिडेन्सियल लाइब्रेरी उद्घाटन कार्यक्रममा सहभागी भएका थिए। बाइडेनको राष्ट्रपतीय संस्मरण आगामी नोभेम्बर १७ मा प्रकाशन हुने तय गरिएको छ।
Originally published on abcnews.com.np.
















प्रतिक्रिया दिनुहोस्