काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र चुलिँदै गएको विवाद अन्त्य गर्दै ‘सम्पूर्ण एकता’ कायम गर्न नेतृत्व र कार्यकर्तालाई अपिल गरेका छन्।
सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा पुनरवलोकनको निस्सा प्रदान गरेपछि पार्टीभित्र र सामाजिक सञ्जालमा बढेको आरोप–प्रत्यारोपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै खड्काले व्यक्तिगत अहंकार, कुण्ठा र आपसी तिक्तता त्यागेर पार्टी एकताका लागि अघि बढ्न आग्रह गरेका हुन्।
खड्काले राष्ट्रियता, लोकतान्त्रिक संविधान र स्वयं नेपाली कांग्रेस इतिहासकै अत्यन्त प्रतिकूल तथा संकटापन्न अवस्थाबाट गुज्रिरहेको दाबी गर्दै अहिलेको पहिलो आवश्यकता पार्टीको ‘सम्पूर्ण एकता’ भएको बताएका छन्।
उनले पार्टी सभापति गगन थापालाई एकताको वातावरण निर्माण गर्न अग्रसर भएर नेतृत्वदायी भूमिका निर्वाह गर्नसमेत विशेष आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै खड्काले भनेका छन्, “तपाईं हिम्मत र साहसका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रमोर्चामा अग्रसर हुनुहोस्, हामी अरू सबै सहयोग गर्न तयार छौँ। तर, यहाँनिर स्पष्ट हुन जरुरी छ– निर्णायक तपाईं हो।”
खड्काले सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरवलोकनका लागि दिएको निस्सालाई कुनै पक्षको हार वा जितका रूपमा लिन नहुने बताएका छन्। बरु, उनले यसलाई कांग्रेसलाई पुनः एकताबद्ध गर्ने ‘अन्तिम अवसर’का रूपमा उपयोग गर्न सबै पक्षलाई आग्रह गरेका छन्।
उनको अपिल पछिल्लो समय कांग्रेसभित्र देखिएको आन्तरिक विवाद र अदालतमा पुगेको पार्टी आधिकारिकतासम्बन्धी विषयका बीच आएको हो। अदालतको प्रक्रियालाई लिएर पार्टीका नेता तथा कार्यकर्ताबीच सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप बढ्दै गएपछि खड्काले सार्वजनिक रूपमा एकताको आह्वान गरेका हुन्।
खड्काको अपिलले अदालतको निर्णयलाई राजनीतिक प्रतिस्पर्धा वा गुटगत विजयका रूपमा व्याख्या नगरी त्यसलाई पार्टीभित्रको विवाद समाधान गर्ने अवसरका रूपमा प्रयोग गर्नुपर्ने सन्देश दिएको छ। साथै, उनले वर्तमान संकटबाट कांग्रेसलाई बाहिर निकाल्ने प्रमुख जिम्मेवारी पार्टी सभापति थापामाथि रहेको संकेत गरेका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्