काठमाडौं । प्राकृतिक प्रकोपबाट हुने बढ्दो क्षतिका कारण विश्व बीमा उद्योगमाथिको दबाब आगामी दिनमा पनि कायमै रहने अनुमान गरिएको छ।
ग्लोबल एसिया इन्स्योरेन्स पार्टनरसिपको अनुसन्धानअनुसार बीमा कम्पनी, नियामक र सरकारले जोखिम मूल्यांकनमा सुधार, बीमा उत्पादनको पुनःडिजाइन तथा जलवायु लचिलोपनमा लगानी नगरे प्राकृतिक प्रकोपबाट हुने क्षतिले उद्योगमाथि थप दबाब सिर्जना गर्नेछ।
अनुसन्धान प्रतिवेदनले जलवायु परिवर्तनले विश्वका विभिन्न क्षेत्रमा बीमायोग्यता कमजोर बनाउँदै लगेको जनाएको छ। जलवायु जोखिम अत्यधिक गम्भीर वा अप्रत्याशित हुँदा बीमा सेवा महँगो हुने वा कतिपय अवस्थामा उपलब्ध नै नहुने अवस्था सिर्जना भइरहेको प्रतिवेदनमा उल्लेख छ।
२०२५ मा १०७ अर्ब डलर बीमित क्षतिको अनुमान
प्रतिवेदनअनुसार सन् २०२५ मा प्राकृतिक प्रकोपका कारण विश्वव्यापी रूपमा करिब १०७ अर्ब अमेरिकी डलर बराबरको बीमित क्षति हुने अनुमान गरिएको छ। यो लगातार छैटौँ वर्ष हो, जसमा प्राकृतिक प्रकोपबाट हुने बीमित क्षति १०० अर्ब डलरभन्दा माथि रहने अनुमान गरिएको छ।
सन् २०२५ मा लस एन्जलसमा भएको डढेलो सबैभन्दा महँगो प्राकृतिक प्रकोप बनेको छ। उक्त घटनाबाट करिब ४० अर्ब डलर बराबरको बीमित क्षति भएको अनुमान गरिएको छ।
त्यस्तै, एसियामा तीव्र मनसुनी वर्षा र चक्रवातका कारण सन् २०२५ मा १ हजार ६०० भन्दा बढी मानिसको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ।
‘बीमा सम्भव हुन्छ कि हुँदैन भन्ने होइन’
ग्लोबल एसिया इन्स्योरेन्स पार्टनरसिपका प्रमुख कार्यकारी अधिकृत मिन हुङ चेङले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम सामना गर्न बीमा उद्योगको तयारी महत्वपूर्ण हुने बताएका छन्।
उनका अनुसार बीमा उद्योगले अब बीमा सम्भव हुन्छ कि हुँदैन भन्नेभन्दा जलवायु परिवर्तनका विभिन्न प्रभावका लागि आफूहरू कति तयार छन् भन्ने प्रश्नमा ध्यान दिनुपर्ने अवस्था आएको छ।
बीमा क्षेत्रलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन दूरदर्शी जोखिम व्यवस्थापन, जलवायु–उत्तरदायी लगानी, बलियो सार्वजनिक–निजी सहकार्य र जोखिम न्यूनीकरणका प्रयास आवश्यक रहेको उनले बताएका छन्।
दुई ठूला चुनौती
अनुसन्धानले बीमा कम्पनीले मुख्यतः दुई अन्तरसम्बन्धित चुनौती सामना गरिरहेको देखाएको छ।
पहिलो, बाढी, डढेलो, चक्रवात, अतिवृष्टिलगायत भौतिक जलवायु घटनाबाट हुने क्षति निरन्तर बढिरहेको छ। दोस्रो, कम–कार्बन अर्थतन्त्रतर्फ विश्वव्यापी संक्रमणसँगै नयाँ प्रकारका जोखिम उत्पन्न भइरहेका छन्।
जलवायु परिवर्तनका कारण जोखिम बढ्दै जाँदा बीमा कम्पनीमाथि क्षतिपूर्ति भुक्तानीको दबाब बढिरहेको छ। यसको असर बीमा प्रिमियम महँगो हुनुका साथै जोखिमयुक्त क्षेत्रमा बीमा सेवा उपलब्ध गराउन कठिनाइ बढ्दै गएको प्रतिवेदनले औँल्याएको छ।
यसले भविष्यमा बीमा उद्योगको स्थायित्वसँगै जोखिममा रहेका नागरिक र व्यवसायको बीमामा पहुँचसमेत चुनौतीपूर्ण बन्न सक्ने संकेत गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्