काठमाडौं । पछिल्लो आमनिर्वाचनमा समानुपातिक मतका आधारमा कोसी प्रदेशमा दोस्रो ठूलो राजनीतिक शक्तिका रूपमा उभिएको श्रम संस्कृति पार्टीले आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तारलाई तीव्र बनाएको छ।
पार्टीले अहिले संगठन विस्तारलाई ‘युद्धस्तर’मा अघि बढाएको दाबी गरेको छ। यही क्रममा कोसी प्रदेशका विभिन्न जिल्लामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा र जनता समाजवादी पार्टी (जसपा)का नेता तथा कार्यकर्ताहरू श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने क्रम बढेको छ।
विशेषगरी पहाडी जिल्लामा पुराना दलका जिल्ला तथा स्थानीय संगठनबाट नेता–कार्यकर्ता बाहिरिएर श्रम संस्कृतितर्फ लाग्न थालेपछि परम्परागत दलहरूलाई संगठनात्मक चुनौती थपिएको देखिन्छ।
पार्टी अध्यक्ष हर्क साम्पाङ प्रतिनिधिसभाको बैठक नरहेका बेला कोसी प्रदेशसहित देशका विभिन्न भागमा पुगेर संगठन विस्तार तथा जनसम्पर्कका कार्यक्रमलाई तीव्रता दिइरहेका छन्। अध्यक्ष साम्पाङको देश दौडाहाले पनि पार्टीको संगठन निर्माण अभियानलाई गति दिएको नेताहरूको भनाइ छ।
जसपाको जिल्ला कार्यसमितिदेखि कांग्रेस र एमालेका नेता–कार्यकर्तासम्म
श्रम संस्कृति पार्टीको संगठन विस्तारको प्रभाव पछिल्लो समय विभिन्न जिल्लामा देखिन थालेको छ।
केही समयअघि संखुवासभामा जसपाको जिल्ला कार्यसमिति नै सामूहिक रूपमा श्रम संस्कृति पार्टीमा प्रवेश गरेको थियो। त्यसपछि धनकुटामा नेपाली कांग्रेसका नेता–कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरे भने भोजपुरमा एमालेका स्थानीय नेता–कार्यकर्ता श्रम संस्कृतितर्फ लागेका छन्।
पछिल्लो आमनिर्वाचनमा कोसी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो स्थानमा रहँदा श्रम संस्कृति पार्टी दोस्रो स्थानमा थियो। अन्य स्थापित दलहरू श्रम संस्कृतिभन्दा पछाडि रहेका थिए।
यही निर्वाचन परिणामलाई आधार बनाउँदै पार्टीले आफ्नो संगठनात्मक आधारलाई आगामी प्रदेश तथा स्थानीय तह निर्वाचनसम्म अझ विस्तार गर्ने रणनीति बनाएको छ।
श्रम संस्कृति पार्टीका केन्द्रीय सहप्रवक्ता जीवन विष्टका अनुसार संगठन विस्तारको अभियान कोसीमा मात्र सीमित छैन। देशभर संगठन सुदृढीकरणको कार्यक्रम अघि बढाइएको छ।
उनका अनुसार हालै ‘हातेमालो कार्यक्रम’ सम्पन्न भएको छ भने आगामी केन्द्रीय कमिटी बैठकबाट संगठन विस्तारका थप रणनीति तय गरिनेछ।
“संगठन विस्तारमा अन्य दलकालाई तान्न मात्र नभई कार्यक्रममार्फत नै आकर्षित गर्ने उद्देश्य हो,” विष्टले भने।
उनका अनुसार पार्टीले संगठन विस्तारसँगै विभिन्न क्षेत्रमा स्थानीय उत्पादनको सम्भावनाको अध्ययनसमेत गरिरहेको छ। राजनीतिक संगठनलाई स्थानीय उत्पादन र श्रमसँग जोड्ने पार्टीको रणनीति रहेको उनको भनाइ छ।
पहाडपछि मधेसमा प्रवेश गर्ने रणनीति
कोसी प्रदेशका पहाडी क्षेत्रमा संगठन विस्तारको एउटा चरण पूरा गरेपछि श्रम संस्कृति पार्टीले अब आफ्नो राजनीतिक गतिविधि मधेस क्षेत्रमा विस्तार गर्ने तयारी गरेको छ।
पार्टीका सहप्रवक्ता विष्टका अनुसार मधेसमा परम्परागत राजनीतिक दलहरूले लामो समयदेखि आफ्नो प्रभाव कायम राख्दै आए पनि श्रम संस्कृति फरक राजनीतिक र आर्थिक अवधारणासहित त्यहाँ प्रवेश गर्न खोजिरहेको छ।
“मधेसमा मधेसवादी दल, कांग्रेस र माओवादीले यसअघि शासनसत्तामा बसेर काम गरेकै हुन्, तर हामी अलि फरक ढंगले मधेस छिर्दै छौँ,” विष्टले भने।
उनका अनुसार मधेसको समथर भूभागमा कृषि उत्पादनको सम्भावनालाई राजनीतिक संगठनसँग जोड्ने योजना पनि बनाइएको छ।
पार्टीले कुनै एक क्षेत्रमा कृषि उत्पादनमा आधारित नमुना परियोजना सञ्चालन गरी स्थानीय जनतालाई प्रत्यक्ष रूपमा उत्पादन र श्रमसँग जोड्ने सम्भावनाबारे अध्ययन गरिरहेको जनाएको छ।
यसले श्रम संस्कृति पार्टीको राजनीति केवल चुनाव र संगठन विस्तारमा सीमित नराखी स्थानीय आर्थिक गतिविधिसँग जोड्ने प्रयासका रूपमा समेत देखिएको छ।
संखुवासभामा ८० जनाको सामूहिक प्रवेश
संखुवासभामा जसपामा सक्रिय रहेका ८० जना नेता–कार्यकर्ताले सामूहिक राजीनामा दिएर श्रम संस्कृति पार्टीमा आबद्ध भएको स्थानीय नेता हेमराज याक्खाले जानकारी दिएका छन्।
याक्खाले सामाजिक सञ्जालमार्फत पुरानो राजनीतिक अभ्यासभन्दा श्रम र उत्पादनमा आधारित अभियानमा जोडिन आह्वान गरेका छन्।
उनले लेखेका छन्, “अब श्रमदान गरौँ, एक भई श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज साम्पाङज्यूको अभियानमा जुटौँ।”
सामूहिक प्रवेशले जिल्लामा श्रम संस्कृति पार्टीको संगठन विस्तारलाई थप बल पुगेको पार्टीका स्थानीय नेताहरूको दाबी छ।
धनकुटामा कांग्रेसका १९ नेता–कार्यकर्ताको सामूहिक राजीनामा
धनकुटामा पनि नेपाली कांग्रेसका लामो समयदेखि सक्रिय नेता–कार्यकर्ताको एउटा समूहले पार्टी परित्याग गरेको छ।
कांग्रेसका १९ जना नेता–कार्यकर्ताले पार्टी सभापति गगन थापालाई पत्र लेख्दै सामूहिक राजीनामा दिएका छन्।
राजीनामा दिनेमा दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसबाट समानुपातिक सदस्य रहेकी तथा पार्टीकी महासमिति सदस्य अञ्जना ताम्ली, कोसी प्रदेश सदस्य मीना राई, क्षेत्रीय सदस्य युवेन तुम्बा, क्षेत्रीय प्रतिनिधि राजकुमारी राईलगायत क्रियाशील सदस्य छन्।
उनीहरू अहिले श्रम संस्कृति पार्टीको गतिविधिमा सक्रिय भएका छन्।
कांग्रेस नेतृत्वलाई बुझाइएको राजीनामा पत्रमा पार्टीभित्र काम गर्ने अनुकूल वातावरण नरहेको तथा पछिल्लो समय उत्पन्न वैचारिक मतभेदका कारण पार्टीमा निरन्तर रहन नसकिएको उल्लेख गरिएको छ।
एमाले भोजपुरमा कारबाही
भोजपुरमा भने श्रम संस्कृति पार्टीमा सक्रिय भएका एमालेका नेता–कार्यकर्तामाथि पार्टीले कारबाही अघि बढाएको छ।
एमाले भोजपुर कमिटीले भोजपुर नगरपालिकाकी उपमेयर निर्मला शेर्पा र भोजपुर–८ का वडाध्यक्ष नवीन प्रधानसहितका नेतामाथि कारबाही गरेको जनाएको छ।
एमाले भोजपुर अध्यक्ष मक्करबहादुर खड्काका अनुसार पार्टी अनुशासन उल्लंघन गर्दै अन्य दलमा प्रवेश गरेको र पार्टीविरुद्ध गतिविधि सञ्चालन गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको हो।
शेर्पालाई एमालेको साधारण सदस्यबाट हटाउन तथा उपमेयर पदबाट मुक्त गर्न प्रदेश कमिटीसमक्ष सिफारिस गरिएको छ।
एमालेले रेनुका भुजेल, कोपिला राई, विमल रणपहेली, सुमन प्रधान, बाबुराम तामाङ र दिपेन दर्नाललाई पनि साधारण सदस्यबाट हटाएको जनाएको छ।
यस घटनाले श्रम संस्कृति पार्टीको बढ्दो प्रभावलाई लिएर पुराना दलहरूभित्र समेत संगठनात्मक दबाब बढिरहेको संकेत गरेको छ।
सुदन किराँतीलाई मुख्यमन्त्रीको उम्मेदवार
श्रम संस्कृति पार्टीले कोसी प्रदेशमा आफ्नो राजनीतिक लक्ष्यलाई संगठन विस्तारमा मात्र सीमित नराखी सरकार गठन गर्ने रणनीतिसमेत सार्वजनिक गरिसकेको छ।
पार्टीले नेता सुदन किराँतीलाई कोसी प्रदेशको भावी मुख्यमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने घोषणा गरिसकेको छ।
मुख्यमन्त्रीको उम्मेदवारका रूपमा किराँतीलाई अघि सारेपछि कोसीमा पार्टीको राजनीतिक गतिविधि थप तीव्र भएको छ।
किराँती स्वयं विभिन्न जिल्लामा पुगेर पार्टीको भावी राजनीतिक कार्यदिशा र संगठन विस्तारबारे कार्यक्रम गरिरहेका छन्।
पार्टीले कांग्रेसको आन्तरिक विवाद, एमालेको संगठनात्मक सुस्तता तथा नेकपाको कमजोर गतिविधिबाट आफूलाई राजनीतिक स्थान विस्तार गर्ने अवसर सिर्जना भएको आकलन गरेको छ।
यसका साथै पहिचानको मुद्दामा राजनीति गर्दै आएका केही क्षेत्रीय तथा पहिचानवादी समूहसमेत श्रम संस्कृतितर्फ आकर्षित भएको पार्टीको दाबी छ।
‘पुराना दलबाट नागरिकको जीवनमा खासै सुधार भएन’
किराँतीले पुराना राजनीतिक दलको शासनबाट जनताको जीवनमा अपेक्षित परिवर्तन नआएको दाबी गर्दै नयाँ राजनीतिक विकल्प आवश्यक रहेको बताए।
“पुरानाबाट नागरिकको जीवनमा खासै सुधार आएको देखिएन,” उनले भने, “फेरि अहिले रास्वपाले केन्द्रको सरकार सञ्चालन गरिरहेको छ। एउटै पार्टीको सरकार तल भए चेक एन्ड ब्यालेन्स नहुन पनि सक्छ।”
उनले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा केन्द्रमा सरकार सञ्चालन भइरहेकाले प्रदेश र स्थानीय तहमा फरक राजनीतिक शक्तिको सरकार आवश्यक रहेको तर्क गरे।
“नयाँ शक्तिको रूपमा उदाएको रास्वपाको कमजोरी पनि देखिन थालेको छ,” किराँतीले भने, “देशलाई स्थिर सरकार त चाहिएकै छ, तर पाँच वर्षमा कहाँ पुर्याउने हो भन्ने चिन्ता पनि उत्तिकै छ।”
उनका अनुसार केन्द्र र प्रदेशमा एउटै राजनीतिक दलको सरकार हुँदा शक्ति सन्तुलन कमजोर हुन सक्ने भएकाले कोसीमा फरक राजनीतिक शक्तिको सरकार बनाउने लक्ष्यसहित श्रम संस्कृति पार्टी अघि बढेको हो।
एकल सरकार बनाउने लक्ष्य
श्रम संस्कृति पार्टीले कोसी प्रदेशमा एकल सरकार गठन गर्ने दीर्घकालीन रणनीति बनाएको किराँतीले बताएका छन्।
यसका लागि पार्टीले पहाडी क्षेत्रबाट संगठन विस्तार गर्दै तराई–मधेससम्म आफ्नो राजनीतिक आधार विस्तार गर्न खोजिरहेको छ।
पार्टीको रणनीति हेर्दा आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनलाई संगठन विस्तारको मुख्य परीक्षणका रूपमा लिइएको देखिन्छ।
एकातर्फ पुराना दलका असन्तुष्ट नेता–कार्यकर्तालाई पार्टीमा भित्र्याउने र अर्कोतर्फ स्थानीय उत्पादन, श्रम, कृषि तथा पहिचानका मुद्दालाई राजनीतिक अभियानसँग जोड्ने प्रयास श्रम संस्कृति पार्टीले गरिरहेको छ।
पुराना दलका लागि बढ्दो चुनौती
कोसीमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र हुनु नेपाली कांग्रेस, एमाले, नेकपा र जसपाजस्ता पुराना तथा स्थापित दलका लागि चुनौती बन्न सक्ने देखिएको छ।
विशेषगरी जिल्ला तथा स्थानीय तहमा लामो समयदेखि संगठन निर्माण गरेका नेता–कार्यकर्ता सामूहिक रूपमा बाहिरिन थालेमा त्यसको प्रत्यक्ष प्रभाव निर्वाचनको संगठनात्मक तयारीमा पर्न सक्छ।
तर अहिलेको संगठन विस्तारलाई आगामी निर्वाचनमा वास्तविक मतमा रूपान्तरण गर्न भने श्रम संस्कृति पार्टीका लागि सहज हुनेछैन। नयाँ पार्टीका रूपमा स्थायी संगठन, स्थानीय नेतृत्वको व्यवस्थापन, नीति तथा कार्यक्रमको स्पष्टता र निर्वाचन क्षेत्रमा प्रभावकारी उम्मेदवार छनोट मुख्य चुनौती हुनेछन्।
अर्कोतर्फ, पुराना दलबाट असन्तुष्ट नेता–कार्यकर्ता प्रवेश गर्दैमा उनीहरूको सम्पूर्ण जनाधार स्वतः नयाँ पार्टीमा स्थानान्तरण हुन्छ भन्ने पनि निश्चित हुँदैन।
त्यसैले कोसीमा श्रम संस्कृति पार्टीको पछिल्लो उभार आगामी निर्वाचनसम्म कायम रहन्छ कि रहँदैन भन्ने कुरा संगठन विस्तारलाई जनमतमा रूपान्तरण गर्ने क्षमताले निर्धारण गर्नेछ।
अहिलेसम्मको गतिविधिले भने एउटा स्पष्ट राजनीतिक सन्देश दिएको छ—कोसीमा परम्परागत दलहरूको स्थापित राजनीतिक आधारलाई नयाँ शक्ति चुनौती दिने चरणमा प्रवेश गरिसकेको छ। सुदन किराँतीलाई मुख्यमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दै र हर्क साम्पाङको नेतृत्वमा संगठन विस्तारलाई तीव्र पार्दै श्रम संस्कृति पार्टीले आगामी निर्वाचनलाई आफ्नो राजनीतिक शक्ति परीक्षणको निर्णायक अवसरका रूपमा लिएको देखिन्छ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्