काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले सोमबार वडाध्यक्ष कौशलकुमार धोबी, वडा सचिव वीरबहादुर थापामगर, नेपालगन्ज–२० का रविन्द्र लामिछाने र उदयपुरको चौदण्डीगढी नगरपालिका–५ का विकासकुमार चापागाईंविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
अख्तियारका अनुसार लामिछाने र चापागाईंले २०७९ साउन १० गते ७० लाख रुपैयाँको लेनदेन देखाउँदै योजनाबद्ध रूपमा झुटा करारनामा तयार पारेका थिए। जग्गा खरिदको प्रयोजन देखाएर नक्कली करारनामा तयार पारिएको आयोगको दाबी छ।
त्यस्तै, वडा कार्यालयको आर्थिक वर्ष २०७९/८० को लिखत प्रमाणित दर्ता किताबमा विवरण सच्याएर प्रमाणित गरेको तथा वडा कार्यालयको सरकारी छाप दुरुपयोग गरी गैरकानुनी लाभ लिएको अख्तियारले जनाएको छ।
वडाध्यक्ष धोबी र वडा सचिव थापाले २०८३ असार २९ गतेको विवरणसमेत फेरबदल गरी झुटा विवरणसहितको गलत लिखत तयार पारी आयोगको अभिलेखमा पत्राचार गरेको अनुसन्धानबाट खुलेको अख्तियारको दाबी छ।
आयोगका अनुसार लामिछाने र चापागाईंविरुद्ध यसअघि नै भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन छन्।
अख्तियारले सरकारी लिखत तथा छापको दुरुपयोग गरी झुटा विवरण तयार गर्ने र प्रमाण सिर्जना गर्ने कार्य भ्रष्टाचारजन्य कसुर भएको भन्दै चारै जनाविरुद्ध कानुनी कारबाहीको मागसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्