काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले औद्योगिक विकासका लागि निजी क्षेत्रलाई सहुलियत र प्रोत्साहन दिँदै लगानीमैत्री वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्।
मंगलबार काठमाडौंमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’को उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले अहिले व्यवसायीले ऋण लिएर लगानी गर्नुपर्ने अवस्था रहेकाले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताए।
उनले अटोमोबाइल क्षेत्रमा नक्कली तथा गुणस्तरहीन पार्टपुर्जा र ब्याट्री भित्रिने समस्या गम्भीर रहेको भन्दै भन्सार, यातायात व्यवस्था विभागलगायत सम्बन्धित निकायले कडाइका साथ निगरानी गर्नुपर्ने बताए। राजस्व संकलनका नाममा नेपाललाई गुणस्तरहीन वस्तुको बजार बनाउन नहुने उनको भनाइ छ।
रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका
अध्यक्ष श्रेष्ठले मुलुकको कुल रोजगारीमा निजी क्षेत्रको हिस्सा ८६ प्रतिशत रहेको दाबी गरे। हरेक वर्ष पाँचदेखि छ लाख युवा श्रम बजारमा प्रवेश गर्ने भए पनि सरकारले सीमित रोजगारी मात्रै सिर्जना गर्न सक्ने भएकाले निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उनले बताए।
युवा पलायन रोक्न स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिँदै उनले एसेम्ब्लिङ र कन्ट्र्याक्ट म्यानुफ्याक्चरिङ उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताए।
आयात घटाउन औद्योगिक विस्तार आवश्यक
नेपाल करिब ७० प्रतिशत वस्तु आयातमा निर्भर रहेको र ३० प्रतिशत मात्र आन्तरिक उत्पादन हुने अवस्था रहेको उल्लेख गर्दै श्रेष्ठले औद्योगिक उत्पादन विस्तारका लागि नयाँ रणनीति आवश्यक रहेको बताए।
सरकार आफैँ उद्योग सञ्चालनमा भन्दा निजी क्षेत्रलाई प्रतिस्पर्धी वातावरण निर्माण गर्न केन्द्रित हुनुपर्ने उनको भनाइ छ। सरकारी उद्योगलाई अनुदान दिने तर निजी उद्योगलाई प्रतिस्पर्धामा छाड्ने दोहोरो नीति अन्त्य गरी सरकारी र निजी क्षेत्रलाई समान प्रतिस्पर्धाको वातावरण दिनुपर्ने उनले बताए।
रुग्ण निजी उद्योगलाई पनि प्राथमिकता
हेटौँडा कपडा उद्योगजस्ता बन्द सरकारी उद्योग सञ्चालन गर्ने प्रयास सकारात्मक भए पनि वर्षौँदेखि बन्द रहेका निजी क्षेत्रका रुग्ण उद्योगको पुनरुत्थानमा पनि सरकारले समान ध्यान दिनुपर्ने श्रेष्ठले बताए।
सरकारी उद्योग सञ्चालनसँगै समस्याग्रस्त निजी उद्योगलाई पुनः सञ्चालन गर्न सहजीकरण गर्ने नीति आवश्यक रहेको उनले उल्लेख गरे। निजी क्षेत्रको लगानी विस्तार, रोजगारी सिर्जना र औद्योगिक उत्पादन वृद्धि भए मात्रै मुलुकको आर्थिक विकासले गति लिने श्रेष्ठको भनाइ छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्