काठमाडौँ । भोलि बुधबार अर्थात् १२ अगस्ट (२७ साउन २०८३) मा विश्वका विभिन्न भागमा सूर्यग्रहण लाग्दैछ। तर, यो सूर्यग्रहण नेपालबाट भने देखिने छैन।
नासाका अनुसार चन्द्रमा पृथ्वी र सूर्यको बीचमा आउँदा सूर्यको प्रकाश पृथ्वीसम्म पुग्न नपाउने अवस्थालाई सूर्यग्रहण भनिन्छ। सूर्यग्रहण लाग्न सूर्य, चन्द्रमा र पृथ्वी लगभग एउटै रेखामा आउनुपर्छ।
भोलिको सूर्यग्रहण उत्तरी रुस, ग्रिनल्यान्ड, आइसल्यान्ड तथा स्पेन र पोर्चुगलका केही भागबाट पूर्ण रूपमा देखिनेछ। उत्तरी रुसको दुर्गम क्षेत्रमा दिउँसो तथा स्पेनमा सूर्यास्तअघि ग्रहण देखिने जनाइएको छ।
त्यस्तै, अमेरिकाको उत्तरी भाग, क्यानडा, उत्तरपश्चिमी अफ्रिका तथा युरोपका धेरै क्षेत्रमा ग्रहण आंशिक रूपमा देखिनेछ। केही स्थानमा सूर्यको ९० प्रतिशतभन्दा बढी भाग चन्द्रमाले ढाकेको देखिने नासाले जनाएको छ।
खाली आँखाले हेर्न नहुने
खगोलविद्हरूले सूर्यग्रहणलाई खाली आँखाले हेर्न नहुने चेतावनी दिएका छन्। साधारण सनग्लास प्रयोग गरेर हेर्दा पनि आँखाको रेटिनामा स्थायी क्षति पुग्न सक्ने भएकाले सूर्यग्रहण हेर्न विशेष रूपमा प्रमाणित ग्रहण चस्मा प्रयोग गर्नुपर्ने उनीहरूको सुझाव छ।
नासा लगायत विभिन्न संस्थाले भोलिको सूर्यग्रहणको प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेका छन्।
सूर्यग्रहण औँसीका दिन र चन्द्रग्रहण पूर्णिमाका दिन लाग्ने गर्छ। यसअघि २ असोज २०८२ मा लागेको सूर्यग्रहण पनि नेपालबाट देखिएको थिएन। उक्त ग्रहण न्यूजिल्यान्ड, अस्ट्रेलिया, फिजी, टोङ्गा र अन्टार्कटिका लगायतका क्षेत्रबाट देखिएको थियो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्