काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सर्वोच्च अदालतबाट पुनरावलोकनका लागि निस्सा जारी भएको भन्दै आगामी महाधिवेशनसहित पार्टीका सम्पूर्ण निर्णय तत्कालका लागि यथास्थितिमा राख्न माग गरेको छ।
कांग्रेस राष्ट्रिय भेला आयोजक समिति संयोजक डा. शशांक कोइरालाले पार्टी सभापति गगनकुमार थापासहित केन्द्रीय समितिलाई पत्र पठाउँदै अदालतमा विचाराधीन विषयको अन्तिम टुंगो नलागेसम्म पार्टीका सांगठनिक तथा नीतिगत गतिविधि अघि नबढाउन आग्रह गरेका हुन्।
पत्रमा कांग्रेसको वैधानिकता र पार्टी संरचनासम्बन्धी सर्वोच्च अदालतको अघिल्लो फैसलाविरुद्ध पार्टी सभापति शेरबहादुर देउवा तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट दर्ता भएको पुनरावेदनमा सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनका लागि निस्सा प्रदान गरेको उल्लेख गरिएको छ।
इतर पक्षले अदालतबाट मुद्दाको अन्तिम किनारा नलागेसम्म पार्टीको विद्यमान संरचना र नेतृत्वको वैधानिकतामाथि कानुनी प्रश्न कायमै रहेको दाबी गरेको छ। यस्तो अवस्थामा पार्टीभित्र थप जटिलता र कानुनी संकट उत्पन्न हुन नदिन तत्काल कुनै दूरगामी निर्णय नगर्न आग्रह गरिएको हो।
विशेषगरी विशेष महाधिवेशनसँग सम्बन्धित कुनै पनि सांगठनिक, प्राविधिक वा नीतिगत कार्यतालिका तत्काल स्थगित गर्न इतर पक्षले माग गरेको छ। अदालतको अन्तिम फैसला नआएसम्म पार्टीको तर्फबाट दीर्घकालीन प्रभाव पार्ने राजनीतिक, नीतिगत, सांगठनिक तथा आर्थिक निर्णयसमेत नगर्न भनिएको छ।
इतर पक्षले अदालतको गरिमा र कानुनी प्रक्रियालाई सम्मान गर्दै मुद्दाको अन्तिम परिणामलाई प्रभावित पार्ने कुनै पनि गतिविधि नगर्न संस्थापन पक्षको ध्यानाकर्षण गराएको छ।
पत्रमा अदालतको विचाराधीन विषयमा गतिविधि अघि बढाउँदा कानुनी जटिलता वा अदालतको अवहेलनासम्बन्धी अवस्था सिर्जना भए त्यसको जिम्मेवारी सम्बन्धित पक्षले नै लिनुपर्ने चेतावनीसमेत दिइएको छ।
यससँगै कांग्रेसभित्र आगामी महाधिवेशनको तयारी, पार्टीको वैधानिकता र नेतृत्वसम्बन्धी विवाद थप पेचिलो बन्ने संकेत देखिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्