काठमाडौं । यमनका हुथी विद्रोहीले बाब अल–मन्देब जलमार्गमा साउदी अरेबियासँग सम्बन्धित एक मालवाहक जहाजमाथि क्षेप्यास्त्र प्रहार गर्दा चार जना चालक दलका सदस्यको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तीन जना पाकिस्तानी र एक जना इन्डोनेसियाली नागरिक रहेको बताइएको छ । तन्जानियाको झण्डा बोकेको ‘तिहामा’ नामक जहाज ओमानको सलालाह बन्दरगाहबाट जिबुटीतर्फ गइरहेका बेला आक्रमणमा परेको हो ।
हुथी विद्रोहीले जुलाई २० देखि साउदी अरेबियासँग सम्बन्धित जहाजमाथि नाकाबन्दी सुरु गरेको दाबी गर्दै आएका छन् । त्यसयता लाल सागर क्षेत्रमा साउदीसँग सम्बन्धित कम्तीमा आठ वटा जहाजलाई निशाना बनाइएको बताइएको छ ।
यसअघि एनसिलिया, लेला, गजल र वफालगायतका जहाज पनि आक्रमणको निशानामा परेका थिए । पछिल्लो घटनालाई भने साउदी जहाजमाथि हुथी आक्रमणमा चालक दलका सदस्यको मृत्यु भएको पहिलो घटनाका रूपमा उल्लेख गरिएको छ ।
बाब अल–मन्देब विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक हो । यो जलमार्ग हुँदै लाल सागर र स्वेज नहरमार्फत युरोप, एसिया तथा मध्यपूर्वबीच ठूलो परिमाणमा सामान ओसारपसार हुँदै आएको छ ।
यसअघि नै होर्मुज जलमार्गमा उत्पन्न सुरक्षा चुनौतीका कारण विश्वव्यापी समुद्री व्यापार दबाबमा परेको अवस्थामा बाब अल–मन्देबमा समेत जहाजमाथि आक्रमण बढेपछि जोखिम थपिएको छ ।
सुरक्षाको जोखिम बढेसँगै कतिपय अन्तर्राष्ट्रिय सिपिङ कम्पनीहरूले लाल सागर तथा स्वेज नहरको मार्ग प्रयोग घटाउँदै वैकल्पिक लामो समुद्री मार्ग रोज्न थालेका छन् । यसले ढुवानी समय र लागत बढाउने तथा विश्वव्यापी आपूर्ति शृङ्खलामा थप दबाब सिर्जना गर्ने जोखिम बढाएको छ ।
तेल तथा अन्तर्राष्ट्रिय व्यापारमा असर
हुथी आक्रमणका कारण साउदी अरेबियासँग सम्बन्धित समुद्री आवागमन तथा तेल ढुवानीमा समेत असर पर्न थालेको बताइएको छ । जहाजहरूको सुरक्षा सुनिश्चित गर्न अतिरिक्त सुरक्षा व्यवस्था गर्नुपर्ने तथा जोखिमयुक्त क्षेत्रबाट मार्ग परिवर्तन गर्नुपर्ने अवस्थाले व्यापारिक लागत बढाउने देखिएको छ ।
यमनको लामो समयदेखि जारी द्वन्द्व र क्षेत्रीय तनावका बीच बाब अल–मन्देबमा भएको पछिल्लो आक्रमणले मध्यपूर्वको सुरक्षा चुनौतीलाई थप गम्भीर बनाएको छ । समुद्री मार्गमा निरन्तर आक्रमण भइरहे अन्तर्राष्ट्रिय व्यापार, ऊर्जा आपूर्ति र विश्वव्यापी ढुवानी प्रणालीमा यसको प्रभाव अझ व्यापक हुन सक्ने चिन्ता बढेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्