बागलुङ । काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुरको मृत्यु भएको छ। ढोरपाटन नगरपालिका–७ का ४० वर्षीय अशोक खत्रीको हत्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
धम्जाको माझकटेरामा श्रमिकका रूपमा बस्दै आएका खत्रीलाई सोही ठाउँमा मजदुरी गर्दै आएका ढोरपाटन नगरपालिका–५ का २५ वर्षीय अर्जुन घर्तीले आपसी विवादका क्रममा चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका खत्रीको घटनास्थलमै मृत्यु भएको थियो। घटनालगत्तै प्रहरीले घर्तीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो।
प्रहरीका अनुसार खत्री र घर्ती दुवै धम्जास्थित निर्मल आधारभूत विद्यालयको भवन निर्माण कार्यमा मजदुरी गर्दै आएका थिए। मजदुरीकै क्रममा उनीहरूबीच विवाद भएपछि घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको कारण र विस्तृत विवरण अनुसन्धानपछि खुल्ने बताएको छ।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्