लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले लुम्बिनी प्रदेशमा वर्तमान सरकारलाई निरन्तरता दिन सहयोग गर्ने भएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको आग्रहपछि मसालले एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो।
लुम्बिनी प्रदेशमा मसाल समर्थित राष्ट्रिय जनमोर्चाका एक सांसद रहेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबीच दुई बुँदे सहमति भएपछि मसालले सरकारलाई समर्थन गर्ने भएको हो।
यसअघि एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको सहमतिअनुसार लुम्बिनीमा एमालेले मुख्यमन्त्री पाउने तय भएको थियो। हाल एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री छन् र एमालेले आचार्य नेतृत्वकै सरकारलाई निरन्तरता दिने तयारी गरेको छ।
बहुमतका लागि मसाल निर्णायक
८३ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार गठनका लागि ४२ सांसदको समर्थन आवश्यक पर्छ। एमालेका २९ र नेपाली कम्युनिस्ट पार्टीका सभामुखसहित १३ सांसद छन्।
तर सभामुखले मतदान गर्न नपाउने भएकाले एमाले–नेकपा गठबन्धनसँग प्रभावकारी रूपमा ४१ सांसद मात्र हुन्छन्। यस्तो अवस्थामा मसाल समर्थित राष्ट्रिय जनमोर्चाका एक सांसदको समर्थन सरकारका लागि निर्णायक बनेको हो।
भदौ १ गते विश्वासको मत
मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। मसालको समर्थनसँगै आचार्य नेतृत्वको सरकारलाई आवश्यक बहुमत पुग्ने अवस्था बनेको छ।
यससँगै लुम्बिनीमा एमाले नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिने बाटो खुलेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्