कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाउन सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका छन्।
मुख्यमन्त्री शाहले भोलि साँझ ५ बजे प्रदेशसभा बैठक बोलाउन आग्रह गर्दै सभामुखलाई पत्र पठाएका हुन्। सभामुख भण्डारीले मुख्यमन्त्रीको पत्र प्राप्त भएको पुष्टि गरेका छन्।
अघिल्लो महिनाको ३१ गते सत्ता गठबन्धनमा रहेको नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए।
संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने वा पदबाट राजीनामा दिनुपर्ने अवस्था रहेपछि मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाउन पत्र पठाएका हुन्।
विश्वासको मत नलिई राजीनामा दिने तयारी
विश्वासको मत लिन प्रदेशसभा बैठक बोलाउन पत्र पठाए पनि मुख्यमन्त्री शाहले विश्वासको मत नलिई राजीनामा दिने तयारी गरेको उनीनिकट स्रोतले जनाएको छ।
स्रोतका अनुसार शाहले भोलि प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिने विषयमा आन्तरिक छलफल गरिरहेका छन्।
सुदूरपश्चिम प्रदेशसभामा ५३ सदस्य छन्। सरकार जोगाउन मुख्यमन्त्रीलाई कम्तीमा २७ सांसदको समर्थन आवश्यक पर्छ।
हाल शाहलाई नेपाली कांग्रेसका १८ सांसदको समर्थन छ। कांग्रेसका सांसद प्रकाश देउवा भने हाल अमेरिकामा छन्।
कांग्रेसको १८ सांसदको समर्थन मात्र रहेको अवस्थामा सरकार जोगाउन थप ९ सांसदको समर्थन आवश्यक पर्ने भए पनि कांग्रेसले आवश्यक संख्या सुनिश्चित नभएको जनाएको छ। स्रोतमा भने कांग्रेसको समर्थनबाहेक थप १० सांसदको समर्थन आवश्यक पर्ने दाबी गरिएको छ।
यही कारण मुख्यमन्त्री शाहले विश्वासको मत नलिई राजीनामा दिने निष्कर्षमा पुगेको कांग्रेसको दाबी छ।
मुख्यमन्त्री शाहको सम्भावित राजीनामालगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ।
कांग्रेस प्रमुख सचेतक सरस्वती खड्काका अनुसार संसदीय दलको बैठक आज दिउँसो २ बजे बस्नेछ।
बैठकमा मुख्यमन्त्रीको विश्वासको मत, सम्भावित राजीनामा तथा प्रदेशमा विकसित पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ।
मुख्यमन्त्री शाहले राजीनामा दिएसँगै सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।
नेताहरूका अनुसार पाँचौँ मुख्यमन्त्रीका रूपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्टलाई अघि सार्ने विषयमा केन्द्रमा नेकपा र नेकपा एमालेबीच सहमति भइसकेको छ।
शाहले राजीनामा दिएमा उक्त सहमतिअनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने सम्भावना छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्