लमजुङ । लमजुङको राइनास नगरपालिका–६, धमिलीकुवा फूलबारीमा ७५ वर्षीया काली सार्कीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ४८ वर्षीय प्रेम अछामी रहेका छन्। प्रहरीले उनका अनुसार अछामीले हत्या गरेको स्वीकार गरेका छन्। उनलाई मंगलबार जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार प्रारम्भिक अनुसन्धानमा गाँजा खरिदका क्रममा पैसाको विषयमा विवाद भएपछि अछामीले साउन २३ गते राति वृद्धाको हत्या गरेको खुलेको छ।
अछामीले वृद्धाको कानमा रहेको करिब ५० लाल सुनको मुन्द्रीसमेत लगेको स्वीकार गरेको प्रहरीले जनाएको छ। तर उक्त मुन्द्री हालसम्म बरामद हुन सकेको छैन।
प्रहरीका अनुसार अछामी र वृद्धाबीच गाँजा खरिदको रकमलाई लिएर विवाद भएको थियो।
वृद्धा घरमै एक्लै बस्दै आएकी थिइन्। साउन २३ गते राति करिब ९ बजेतिर उनी घरको कोठामा घाँटी काटिएको अवस्थामा मृत भेटिएकी थिइन्।
घटनाबारे सोही घरमा डेरा गरी बस्दै आएका ५५ वर्षीय देवराज मगरले प्रहरीलाई जानकारी गराएका थिए। दाङको घोराही उपमहानगरपालिका–७ का मगर कामको खोजीमा मनाङ गएर फर्किएका थिए।
घटनापछि प्रहरीले मगरसहित ११ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। प्रारम्भमा मगरलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको र उनको बयानका आधारमा घरमा आउजाउ गर्ने उनका साथी तथा केही स्थानीयलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा प्रेम अछामीमाथि शंका बढेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अछामीले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका छन्। घटनामा प्रयोग भएको भनिएको वस्तु तथा सुनको मुन्द्रीलगायतका विषयमा थप अनुसन्धान भइरहेको छ।
वृद्धा काली सार्की घरमा एक्लै बस्दै आएकी थिइन्। उनका परिवारका अन्य सदस्य नरहेको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्