काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आगामी एसियाली खेलकुदमा क्वार्टरफाइनल पुग्ने लक्ष्यसहित तयारी तीव्र बनाएको छ। सन् २०२३ को हाङजाउ एसियाडपछि ‘मिसन २०२६’ अन्तर्गत तयारी थालेको टोली अहिले बन्द प्रशिक्षणमा छ।
राष्ट्रिय टोलीकी खेलाडी उषा भण्डारीले एसियाडमा राम्रो प्रदर्शन गर्ने लक्ष्य रहेको बताउँदै एउटा खेल जित्न सके पनि क्वार्टरफाइनल पुग्ने सम्भावना बलियो हुने बताइन्।
“लक्ष्य त राम्रो गर्ने नै हो, एउटा मात्र खेल जित्यो भने पनि क्वार्टरफाइनल पुग्ने सम्भावना बलियो हुन्छ,” उषाले भनिन्।
यसपटकको टोलीमा अघिल्लो एसियाड खेलेका उषासहित तीन जना खेलाडी मात्र छन्। कप्तान निरुता ठगुन्ना र सलिना श्रेष्ठले पनि हाङजाउ एसियाड खेलेका थिए। बाँकी खेलाडी नयाँ अनुहार हुन्।
उत्कृष्ट १६ मा पर्नु ठूलो उपलब्धि
नेपाल एसियाली भलिबल वरीयताको शीर्ष १६ मा पर्न सफल भएपछि यसपटक एसियाडमा छनोट भएको हो। एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीको यो दोस्रो सहभागिता हुनेछ।
मुख्य प्रशिक्षक जगदीश भट्टले एसियाली वरीयताको उत्कृष्ट १६ मा पर्नुलाई नै नेपाली महिला भलिबलका लागि ठूलो उपलब्धि भएको बताए।
“वरीयतामा उत्कृष्ट १६ मा पर्नु नै हाम्रो सबैभन्दा ठूलो नतिजा हो,” प्रशिक्षक भट्टले भने, “भलिबलले विगतका उपलब्धिलाई जगेर्ना गर्ने र नयाँ छलाङ मार्ने अवसर पाएको छ। यो महिला भलिबलको स्वर्णिम काल हुनसक्छ।”
नेपाल प्रतियोगिताको समूह ‘ए’मा छ। समूहमा नेपालसँगै इन्डोनेसिया र जापान रहेका छन्। अघिल्लो संस्करणमा नेपाल समूह चरणका दुवै खेलमा पराजित हुँदै बाहिरिएको थियो।
नयाँ खेलाडीबाट पनि अपेक्षा
हाल बन्द प्रशिक्षणमा १२ खेलाडी छन्। उषा भण्डारी, सलिना श्रेष्ठ र निरुता ठगुन्नाबाहेक सबै खेलाडीका लागि एसियाड नयाँ अनुभव हुनेछ।
प्रशिक्षक भट्टले नयाँ खेलाडीले पछिल्लो डेढ वर्षमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताबाट पर्याप्त अनुभव हासिल गरेकाले एसियाडमा त्यसको फाइदा पुग्ने विश्वास व्यक्त गरे।
उनका अनुसार यसपटक टोलीले विगतका वर्षको तुलनामा तयारीका लागि बढी समय पाएको छ। नियमित प्रशिक्षण, खेल अभ्यास र पोषणयुक्त आहारको व्यवस्थाले टोलीको प्रदर्शनमा सुधार आउने अपेक्षा गरिएको छ।
एसियाडलाई ‘सपना’ मान्दै टोली
कप्तान निरुता ठगुन्नाले एसियाडलाई नेपाली महिला भलिबलको स्तर उकास्ने महत्वपूर्ण अवसरका रूपमा लिएकी छिन्।
“तयारी राम्रै भइरहेको छ। यस संस्करण नतिजाभन्दा पनि भलिबलको स्तर कसरी वृद्धि गर्ने भन्नेमा केन्द्रित छौँ,” उनले भनिन्।
उनले एसियाडलाई खेलाडीको सपना भन्दै प्रतियोगितामा शतप्रतिशत प्रदर्शन गर्ने प्रतिबद्धता जनाइन्।
उषाले पनि एसियाडलाई खेलाडीका लागि विशेष महोत्सवको रूपमा लिएकी छिन्। उनका अनुसार समर्थकको अपेक्षालाई दबाबका रूपमा नभई सफलताको संकेतका रूपमा लिँदै टोलीले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ।
प्रशिक्षक भट्टका अनुसार नेपाल एसियाली वरीयतामा उत्कृष्ट आठमा पर्न सके आगामी ओलम्पिक छनोटका लागि समेत बलियो सम्भावना बन्नेछ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्