काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (ईडब्ल्यूभी)को तेस्रो संस्करणका लागि नयाँ फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल वारियर्सको औपचारिक घोषणा गरिएको छ।
सुदूरपश्चिम रोयल वारियर्सको स्वामित्व उमा गौतम भण्डारी, सञ्जीप शाही र कुमार भण्डारीसँग रहेको छ। फ्रेन्चाइजले सुदूरपश्चिमको प्रतिभा, भलिबलप्रतिको उत्साह र खेलकुद क्षमतालाई राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने जनाएको छ।
टोलीले विशेषगरी सुदूरपश्चिमका ग्रामीण, दुर्गम तथा अवसरबाट वञ्चित समुदायका महिला खेलाडीलाई भलिबलमार्फत थप अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ।
फ्रेन्चाइजका सञ्चालक सञ्जीप शाहीले सुदूरपश्चिमको पहिचान र शक्तिलाई प्रतिनिधित्व गर्ने टोली निर्माण गर्दै युवा महिलालाई भलिबलमार्फत अर्थपूर्ण अवसर उपलब्ध गराउने उद्देश्य रहेको बताए।
ईडब्ल्यूभीकी प्रमुख कार्यकारी अधिकृत स्नेभी चापागाईंले तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल वारियर्सलाई स्वागत गर्न पाउँदा गौरवान्वित भएको बताइन्। नयाँ स्वामित्व समूहको आगमनले लिगको राष्ट्रिय उपस्थितिलाई थप बलियो बनाउने उनको भनाइ छ।
एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण असोज ८ देखि १७ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना हुँदैछ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्