बागलुङ । खाना पकाउने एलपी ग्यासको वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन बागलुङ बजारमा ‘उपभोक्ता कार्ड’ प्रणाली लागू गरिएको छ।
बजारमा पर्याप्त ग्यास आपूर्ति भइरहे पनि अभाव हुने हल्लाका कारण उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चय गर्न थालेपछि एलपी ग्यास विक्रेता संघले कार्ड प्रणाली लागू गरेको हो। यसबाट ग्यास वितरणमा हुने दोहोरोपन हट्ने र वास्तविक उपभोक्ताले सहज रूपमा ग्यास पाउने अपेक्षा गरिएको छ।
ग्यास विक्रेता संघका सदस्य गणेशराज लम्सालका अनुसार कार्डमा आधिकारिक विक्रेता फर्म, उपभोक्ताको नाम, सम्पर्क नम्बर, ठेगाना, नागरिकता नम्बर तथा घरधनी वा विद्यार्थी भए सम्बन्धित संस्थाको नाम उल्लेख गरिनेछ।
“उपभोक्ता कार्डले परिवार संख्याको तथ्याङ्क देखाउनेछ। एक घरसँग एउटा कार्ड हुँदा ग्यास वितरणमा दोहोरोपन हटेर सहज हुन्छ,” लम्सालले भने।
जिल्ला प्रशासन कार्यालयको समन्वयमा कार्ड प्रणाली लागू गरिएको संघले जनाएको छ।
साउनमै १४ हजार ७९० सिलिन्डर वितरण
बागलुङमा दैनिक करिब ३५० र मासिक ९ हजार सिलिन्डर ग्यास खपत हुने गरेको छ। तर साउनयता मात्रै १४ हजार ७९० सिलिन्डर वितरण भइसकेको बताइएको छ।
अघिल्ला महिनाको तुलनामा ५ हजारभन्दा बढी सिलिन्डर वितरण भए पनि ग्यास अभाव हुने हल्लाका कारण डिलरमा उपभोक्ताको भीड लाग्ने गरेको छ। बिहीबार मात्रै बागलुङमा ९७० सिलिन्डर वितरण गरिएको थियो।
कृत्रिम अभाव रोक्न अनुगमन
एलपी ग्यासको कृत्रिम अभाव र अनावश्यक सञ्चय रोक्न स्थानीय प्रशासन, जनप्रतिनिधि तथा सरोकारवाला निकाय सक्रिय भएका छन्।
प्रहरी, प्रशासन, उद्योग वाणिज्य संघ, नगरपालिका, उपभोक्ता मञ्च र ग्यास विक्रेता संघको सहकार्यमा ग्यास बिक्री–वितरणलाई सहज बनाउने प्रयास भइरहेको छ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले अनावश्यक रूपमा ग्यास सञ्चय गरेको पाइएमा कारबाही गरिने बताएका छन्। विक्रेताले तोकिएकोभन्दा बढी मूल्य लिएमा तत्काल प्रशासनलाई जानकारी गराउन पनि उनले उपभोक्तालाई आग्रह गरेका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्