बागलुङ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ‘रन बागलुङ–३’ दौड प्रतियोगिता सम्पन्न भएको छ। लियो क्लब अफ बागलुङ कालीगण्डकीको आयोजनामा बुधबार बागलुङ कालिका मन्दिर गेटदेखि कुँडुलेस्थित शालिग्राम संग्रहालयसम्म दौड प्रतियोगिता गरिएको हो।
प्रतियोगितामा १२२ जना युवाको सहभागिता रहेको थियो। निर्धारित दूरी २६ मिनेट २५ सेकेन्डमा पूरा गर्दै बादल कार्की प्रथम भए। उनले १५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।
यस्तै, २७ मिनेट १ सेकेन्डमा दूरी पूरा गरेका सोदिप सुवेदी द्वितीय र २७ मिनेट २५ सेकेन्डमा दूरी पूरा गरेका सक्षम बोहोरा तृतीय भए। द्वितीय भएका सुवेदीले १० हजार र तृतीय भएका बोहोराले ५ हजार रुपैयाँ नगद पुरस्कार पाए।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले शारीरिक र मानसिक रूपमा सक्षम युवाले मात्रै देश विकासमा योगदान दिन सक्ने बताए। जेनजी आन्दोलनपछि युवाको सुशासनमा समेत जिम्मेवारी थपिएको उल्लेख गर्दै उनले खेलमार्फत भविष्य बनाउन चाहने युवालाई यस्ता कार्यक्रमले प्रेरणा दिने बताए।
कार्यक्रममा बागलुङ नगरपालिका, एकीकृत सेवा कार्यालय, कालिका भगवती गुठी व्यवस्थापन समिति, रंगवेंकटेश्वर मुक्तिनारायण मन्दिर र खुसी मन नेपालले सहयोग गरेका थिए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्