विराटनगर, साउन २९ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना गरी राष्ट्र निर्माणमा जोड्न मन्त्रालयले नीतिगत तथा संरचनागत सुधारका काम अघि बढाएको बताएका छन्।
श्रम तथा रोजगार कार्यालय मोरङको नयाँ भवन उद्घाटन गर्दै मन्त्री यादवले बदलिँदो श्रम बजारको माग र श्रमिकका आकाङ्क्षा सम्बोधन गर्न मन्त्रालयले पहिलोपटक नयाँ श्रम नीति निर्माण गरिरहेको जानकारी दिए। उनले श्रम ऐन संशोधनको प्रक्रियासमेत अघि बढाइएको बताए।
सरकारले चालु वर्षलाई ‘रोजगार प्रवर्द्धन दशक’का रूपमा घोषणा गरेको उल्लेख गर्दै मन्त्री यादवले स्वदेशभित्रको रोजगारीलाई मर्यादित, सुरक्षित र सम्मानजनक बनाउने प्रतिबद्धता व्यक्त गरे।
कृषि, पर्यटन, हरित रोजगारी तथा केयर सेवालगायत क्षेत्रमा रोजगारी प्रवर्द्धनका लागि तयारी भइरहेको उनको भनाइ थियो। रोजगारदाता र रोजगारी खोज्नेबीच समन्वय गर्न ‘श्रम संसार’ प्रणालीलाई परिमार्जन तथा स्तरोन्नति गरिएको पनि उनले जानकारी दिए।
पुरस्कार र दण्ड नीति लागू गरिने
श्रम क्षेत्रको व्यवस्थापन तथा नियमनलाई प्रभावकारी बनाउन मन्त्रालयले पुरस्कार र दण्डको नीति अवलम्बन गर्ने मन्त्री यादवले बताए।
कानुन पालना नगर्ने प्रतिष्ठानलाई कानुनी दायरामा ल्याइने तथा श्रमिकप्रति जिम्मेवार रोजगारदातालाई सम्मान र प्रोत्साहन गरिने उनको भनाइ छ।
३ हजार ८३० प्रतिष्ठान निरीक्षण
मन्त्री यादवका अनुसार गत आर्थिक वर्षमा ३ हजार ८३० वटा प्रतिष्ठान, ३ हजार ६३५ वटा बालश्रमसम्बन्धी स्थल तथा २२० वटा श्रमिक आपूर्तिकर्ता कम्पनीको निरीक्षण गरिएको छ।
सो अवधिमा ७६१ वटा श्रम विवादसमेत समाधान गरिएको उनले जानकारी दिए।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्