पोखरा । वैदेशिक रोजगारीका क्रममा १२ वर्ष संयुक्त अरब इमिरेट्स (यूएई) मा काम गर्दा हासिल गरेको सीप र अनुभवलाई स्वदेशमै व्यवसायमा रूपान्तरण गर्दै मोहन शाहले पोखरा–१७, बिरौटाबाट अरबिक परिकारको स्वाद पस्किरहेका छन्।
करिब १५ महिनादेखि सञ्चालनमा रहेको **‘याला फोर्नो एण्ड शोरमा रेस्टुरेन्ट एण्ड क्याफे’**मा मानाकिस, हुमुस, कबाब, शोरमालगायत विभिन्न अरबिक परिकार उपलब्ध छन्।
यूएईमा लामो समय काम गर्दा त्यहाँको खाद्य संस्कृति, परिकार बनाउने शैली, ग्राहकको रुचि तथा रेस्टुरेन्ट व्यवस्थापनबारे सिकेको अनुभवलाई शाहले नेपाल फर्किएपछि आफ्नै व्यवसायमा प्रयोग गरेका हुन्। विदेशमा सिकेको सीप स्वदेशमै उपयोग गर्ने उद्देश्यले रेस्टुरेन्ट सञ्चालनमा ल्याएको उनी बताउँछन्।
काभ्रेको रोशी गाउँपालिकाका स्थायी बासिन्दा शाहले करिब ४० लाख रुपैयाँ लगानीमा व्यवसाय सुरु गरेका हुन्। पोखरामा अन्यभन्दा फरक स्वाद र परिकार उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको रेस्टुरेन्टले पछिल्लो समय बिरौटामा आफ्नो पहिचान बनाउन थालेको उनको भनाइ छ।
‘याला फोर्नो’मा अरबिक स्वाद
‘याला’को अर्थ छिटो र ‘फोर्नो’को अर्थ ओभन भएकाले रेस्टुरेन्टको नामले नै यसको विशेषता झल्काउने शाह बताउँछन्। यहाँ छिटो तयार हुने अरबिक फास्टफुडसँगै ओभनमा पकाइने परिकारलाई प्राथमिकता दिइएको छ।
अरबिक परिकार नेपाली ग्राहकका लागि नयाँ स्वाद भएकाले उनीहरूलाई आकर्षित गर्न मूल्यमा समेत विशेष ध्यान दिइएको शाहको भनाइ छ।
“खाना स्वादिलो मात्र भएर हुँदैन, ग्राहकले आफ्नो बजेटअनुसार खान सक्ने हुनुपर्छ,” शाह भन्छन्।
पोखरामा विभिन्न आर्थिक तथा सामाजिक वर्गका मानिसको बसोबास रहेकाले सबैले आफ्नो बजेटअनुसार खान सक्ने गरी परिकारको मूल्य निर्धारण गरिएको उनले बताए।
विदेशको सीप, स्वदेशमा रोजगारी
शाहका लागि रेस्टुरेन्ट आम्दानीको माध्यम मात्र होइन, विदेशमा सिकेको सीप र अनुभवलाई नयाँ पुस्तासँग बाँड्ने अवसर पनि बनेको छ।
रेस्टुरेन्टमा कार्यरत कर्मचारीलाई काम गर्दै सिक्ने वातावरण प्रदान गर्ने प्रयास गरिएको उनको भनाइ छ। यूएईमा लामो समय काम गर्दाको अनुभवलाई उनले कर्मचारी व्यवस्थापन तथा दैनिक सञ्चालनमा समेत प्रयोग गर्दै आएका छन्।
दक्ष जनशक्ति खोज्नु, कर्मचारी व्यवस्थापन गर्नु र व्यवसायलाई व्यवस्थित रूपमा सञ्चालन गर्नु चुनौतीपूर्ण भए पनि निरन्तर मेहनत र लगनशीलताबाट सफलता हासिल गर्न सकिनेमा उनी विश्वस्त छन्।
पर्यटनसँग जोडिएको व्यवसाय
पोखरालाई प्राकृतिक सुन्दरतासँगै विभिन्न स्वादका परिकारका लागि समेत आकर्षक गन्तव्य बनाउनुपर्ने शाहको धारणा छ।
नेपाल आउने पर्यटकले घुमफिरसँगै स्थानीय तथा अन्तर्राष्ट्रिय स्वादको अनुभव लिन सक्ने वातावरण बनाउनुपर्ने उनको बुझाइ छ। यही सोचका साथ पोखरामा अरबिक परिकारको व्यवसाय सुरु गरेको उनले बताए।
शाखा विस्तारको योजना
वैदेशिक रोजगारीबाट फर्किएपछि स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचका साथ व्यवसायमा प्रवेश गरेका शाह पछिल्लो १५ महिनाको अनुभवबाट उत्साहित छन्।
बिरौटाबाट सुरु भएको व्यवसायलाई पोखराका अन्य क्षेत्रमा विस्तार गर्ने र त्यसपछि नेपालका विभिन्न शहरसम्म **‘याला फोर्नो एण्ड शोरमा’**को सेवा पुर्याउने उनको योजना छ।
“पोखराले मलाई व्यवसाय गर्ने अवसर दिएको छ। अब यही शहरलाई आफ्नो बनाउँदै अगाडि बढ्ने चाहना छ,” शाहले भने।
लगानी, दक्ष जनशक्ति र व्यवस्थापन चुनौतीका रूपमा रहे पनि विदेशमा हासिल गरेको अनुभव, मेहनत र निरन्तरताका आधारमा लक्ष्य पूरा गर्न सकिने उनको विश्वास छ।
वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै लगानी र उद्यम गर्न सकिन्छ भन्ने उदाहरण बनेको शाहको व्यवसायले पोखरामा नयाँ स्वादसँगै रोजगारी र पर्यटन प्रवर्द्धनको सम्भावनासमेत बोकेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्