बागलुङ । पश्चिम बागलुङको निसीखोला गाउँपालिका–२ देवीस्थानको धाराटोलमा शुक्रबार खसेको पहिरोले ८ घरमा क्षति पुर्याएको छ। लगातारको वर्षाका कारण बस्तीमाथिको सडकबाट पहिरो खस्दा स्थानीय त्रसित बनेका छन्।
निसीखोला–२ का वडाध्यक्ष कुविर विश्वकर्माका अनुसार उपल्लो बेङ्ग्री–हाँडिचार–बास्खोला जोड्ने सडकबाट खसेको पहिरोले धाराटोलका धनबहादुर खत्री, राजन परियार, दीपक परियार, ज्ञानबहादुर परियार, हरिकला घर्ती, तारा घर्ती, देविराम घर्ती र टिका घर्तीका घर, गोठ तथा शौचालयमा क्षति पुगेको हो।
पहिरो खस्ने क्रममा मानवीय क्षति भने नभएको वडाध्यक्ष विश्वकर्माले जानकारी दिए। उनका अनुसार कतिपय घरमा प्रत्यक्ष क्षति पुगेको छ भने केही घर तथा गोठ र शौचालय भत्किएका छन्।
पहिरोका कारण केही घर बस्नै नमिल्ने गरी चर्किएपछि प्रभावित परिवार आफन्तको घरमा आश्रय लिन पुगेका छन्।
बस्तीमाथिबाट पहिरो खस्ने क्रम अझै नरोकिएकाले स्थानीयवासी थप जोखिममा परेका छन्। नयाँ सडकको ट्र्याकबाट खसेको पहिरोमा ठूला–ठूला ढुंगा रहेकाले वर्षा हुँदा पहिरो थप फैलिन सक्ने र बस्तीमै ठूलो क्षति पुग्न सक्ने जोखिम रहेको वडाध्यक्ष विश्वकर्माले बताए।
“तत्काल ढुंगा फोडेर पन्छाउन नसके पहिरोले धाराटोलवासीको उठिबास नै गराउने अवस्था छ,” उनले भने, “पहिरो पन्छाउन सम्बन्धित निकायले समयमै चासो दिनुपर्छ।”
पहिरोबाट भएको क्षतिको निरीक्षण तथा तथ्यांक संकलनका लागि प्रहरी चौकी जुग्जाखोलाको टोली घटनास्थलतर्फ आउँदै गरेको वडाध्यक्षले जानकारी दिए। प्रहरीको स्थलगत अध्ययनपछि मात्रै भौतिक क्षतिको यकिन विवरण सार्वजनिक हुने उनले बताए।
पहिरोले धाराटोलसँगै तल्लो क्षेत्रका अन्य बस्तीलाई समेत जोखिममा पारेको छ। उपल्लो बेङ्ग्री–हाँडिचार–बास्खोला जोड्न खोलिएको नयाँ सडकबाट खसेको पहिरोका कारण तल्लो बस्तीका करिब ४० घर उच्च जोखिममा परेको वडाध्यक्ष विश्वकर्माले बताए।
लगातार वर्षा भइरहेका कारण पहिरो थप खस्न सक्ने जोखिम रहेकाले जोखिममा रहेका परिवारलाई सतर्क रहन र सम्भव भएसम्म सुरक्षित स्थानमा बस्नवडाले आग्रह गरेको छ।
स्थानीयले पहिरो तत्काल नियन्त्रण गर्न, ठूला ढुंगा तथा माटो हटाउन र जोखिममा रहेका परिवारको सुरक्षित स्थानान्तरणका लागि सम्बन्धित निकायसँग माग गरेका छन्।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्